प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोप सार्वजनिक चासोको विषय हाे : कांग्रेस नेता गगन थापा

मातृभूमी राजनितिक व्युराे । ३ मंसिर काठमाण्डाै

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप सार्वजनिक चासोको विषय भएकाले दुई नेता मिल्दैमा क्षम्य नहुने धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्री असक्षम भइसकेको भन्दै दाहालको आरोपमा समर्थन जनाउँदै प्रमुख प्रतिपक्षी दलका नेता थापाले सरकारको नेतृत्व गर्न प्रधानमन्त्री ओली अयोग्य भइसकेको टिप्पणी एउटा लामो विज्ञप्ति मार्फत् गरेका हुन् ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, पुष्पकमल दाहाल प्रचण्डज्यू कसले कसलाई फकाउने हो, कसले कसलाई तर्साउने हो, तपाईंहरू नै जान्नुहोस् । तर याद राख्नुहोस्, प्रधानमन्त्री ओली असक्षम, अनैतिक र भ्रष्ट हुनु भएकोले सरकारको नेतृत्व गर्न अयोग्य हुनु भएको नेकपा अध्यक्षको ठहर अब सार्वजनिक सरोकारको विषय भइसक्यो । जुन तपाईंहरूको मन पखालिएर पखालिँदैन ।’

प्रधानमन्त्री ओलीले विदेश मामिला र कूटनीतिमा नेपालको स्वतन्त्र नीतिसँग मेल नखाने व्यवहार देखाउँदै देशलाई क्षति पु¥याएको आरोप लगाउँदै थापाले नेकपाभित्रको आन्तरिक शक्ति सङ्घर्ष राष्ट्रिय सरोकारको विषय बनेको पनि उल्लेख गरेका छन् । मुलुकमाथि गरिएको वेपर्वाह लापरवाहीका बारेमा सदन र सडक दुबैतिर आवाज उठाउने र हिसाब मागिने भन्दै उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुबैबाट मागिने छ ।’

कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि गम्भीर आक्षेपसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *