मध्यपहाडी राजमार्ग १२ वर्षमा १५.६ किलोमिटर कालोपत्रे

मातृभूमी संवाददाता । ६ मंसिर दैलेख
मध्यपहाडी (पुष्पलाल) राजमार्गको १ सय २६ किलोमिटर भाग दैलेख खण्डमा पर्दछ । आयोजनाले काम थालेको १२ वर्ष भएपनि कालोपत्र भने हालसम्म १५ दशमलव ६ किलोमिटर मात्रै भएको छ । मुआब्जा र जग्गा विवादका कारण काममा ढिलाई भैरहेको छ । दैलेख खण्डमा भएको काम देखेर स्थानीयवासी निराश भएका छन् ।
राजमार्गले जिल्लाका भगवतीमाई गाउँपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र आठविस नगरपालिका गरी ६ वटा स्थानीय तहलाई छिचोलेको छ । अहिलेसम्म दैलेख खण्डमा ४ अर्ब २७ करोड रुपैयाँ खर्च भएको मध्यपहाडी (पुष्पलाल) राजमार्ग योेजना कार्यालय दैलेखले जनाएको छ ।
‘दैलेखको अधिकांश ठाउँमा ग्राभेलको काम समेत भएको छैन’ चामुण्डाविन्द्रासैनी नगरपालिकाका स्थानीय मदन वि.क.ले भने, ‘यस्तै अवस्था रहे अबको २० वर्षमा पनि दैलेख खण्ड कालोपत्र हुँदैन ।’ उनले राजमार्गमा अधिकांश काम गुणस्तरहीन हुँदा यात्रा गर्न निकै कठिनाई हुने गरेको गुनासो गरे । अहिलेसम्म नारायण नगरपाकिलाको लोहोरे देखी भगवतीमाई गाउँपालिकामा जम्मा १५ दशमलव ६ किलोमिटर मात्र कालोपत्रको काम सकिएको योजना कार्यालयले जनाएको छ । २०६४ देखि सडक निर्माण थालिएको हो । दैलेख खण्डमा पर्ने १ सय २५ किलोमिटर मध्ये १५ दशमलव ६ किलोमिटर मात्र कालोपत्रे हुँदा अझै १ सय ९ दशमलव ४० किलोमिटर कालोपत्रे हुन वाँकी छ ।
आयोजनाले ४ वर्षअघि गरेको ग्राभेल निकालेर पुनः ग्राभेल गर्न लागेको नारायण नगरपालिकाका स्थानीय टोपेन्द्र थापाले बताए । उनले भने, ‘नारायण नगरपालिका २ को जारकोट खण्डमा पहिले ग्राभेल गरिएको थियो । अहिले फेरी त्यहि ग्राभेल निकालेर हल्का भित्ता कोतरेर माटो निकाली फेरी ग्राभेल गर्न लागिएको छ ।’ माटोमात्र कोतरेर पुरानो ग्राभेल निकाली फेरी ग्राभेल गर्दा परिणामको लोभमा ठेकेदार कम्पनिले यसो गरेको हुन सक्ने थापाले वताए ।
यस्तै आलटालमै १२ वर्ष बित्यो, अब कसरी ३० महिनामा काम सकिन्छ ?,’ नारायण नगरपालिकाकै एक स्थानीयले भने, ‘विभिन्न बहानामा बर्षेनि बजेट खेर गइरहेको छ ।’ उनका अनुसार राजमार्गको अधिकांश खण्ड हिलाम्मे र धुलाम्मे छ ।
उता आठविस नगरपालिकाका स्थानीय अर्जुन शाहीको गुनासो पनि उस्तै छ । शाहीले भने, ‘वर्षादको समयमा राजमार्ग हिलाम्मे हुने र हिउँदको समयमा धुलाम्मे हुने हुनाले पैदल यात्रु लगाएत अन्य यात्रुले हैरानी खेप्नु परेको हाम्रो तेस्रोआँखासँग कुरा गर्दै भने । सामान्य ग्राभेल र नाला मात्र गराएर छोड्दा सवारी साधन चलाउन तथा यात्रा गर्नै मुस्किल हुन्छ ।’
राजमार्ग छेउछाउका जग्गाको मुआब्जा विवाद र नयाँ टर्याक कुन ठाउँबाट लैजाने भन्ने विवाद लामो समयदेखि कायमै छ । सदरमुकामस्थित नारायण नगरपालिकामा देखिएको विवाद अझै हल नभएको आयोजनाका इन्जिनियर मनीष सिंहले बताए । ‘कतै गाउँलेको विरोध छ, कुनै ठाउँमा मुआब्जाको व्यक्तिगत विवाद,’ उनले भने, ‘अवरोधै अवरोधका कारण कालोपत्र गर्ने मिति धकेलिएको हो ।’ उनले जाजरकोटको सुवाडादेखि दैलेखको राकमकर्णालीसम्मको सडक स्तरोन्नतिको कामलाई तीव्रता दिइएको बताए ।
विभिन्न ठाउँमा ग्राभेल गर्ने, मेसिनरी वाल र ग्याबिन जाली भर्ने, सडक चौडा बनाउने, नाला निर्माण लगायतका काम भइरहेको उनको भनाइ छ । चालु आर्थिक वर्षमा १ अर्ब ६४ करोड रुपैयाँका १३ वटा ठेक्का खोलिएको आयोजना कार्यालयका प्रमुख अर्जुन बमले बताए । उनका अनुसार यो वर्ष खोलिएका सबै ठेक्काको अवधि ३० महिनाको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *