सिकार गर्दा भिरवाट लडेर राउटे किशोरको मृत्यु
मातृभूमी संवाददाता । १० मंसिर दैलेख
राउटे समुदायका १६ वर्षीय एक किशोरको मृत्यु भएको छ । बादँरको सिकार गर्ने क्रममा भीरबाट लडेर १६ वर्षीय टेकराज शाहीको मृत्यु भएको हो । जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय बाँदरको सिकार गर्ने गर्छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिका ५ मटेला खोला नजिकै बसोबास गर्दै आएका राउटे समुदायका युवा र किशोरहरु मंगलबार (हिजो) दिउँसो बाँदरको सिकार गर्न गएका थिए । सिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर टेकराजको मृत्यु भएको राउटे परियोजनाका जोडि शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
खत्रीले भने, ‘राउटे समुदायमा हालसम्म कसैले पनि औपचारिक शिक्षा लिएका छैनन् । यद्यपि पछिल्लो सयममा युवा पुस्ताहरुरुले भने पढाइप्रति रहर गर्न थालेका थिए ।’
सिकार गर्ने र जंगलको कन्दमूलको भरमा जीवन धान्दै आएको लोपोन्मुख राउटे समुदाय अहिले भने आधुनिकताप्रति आकर्षित बन्दै गएको छ । हाल ४४ घरपरिवारका एक सय ४५ जना राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नागरिकका रूपमा परिचयपत्र वितरण गरिसकेको छ । मृतक टेकराज शाहीको राउटे परम्परा अनुसार दाहसंस्कार गरिएको छ ।