सात वर्षमा १४ हजार वढि महिला बलात्कृत

मातृभूमी संवाददाता । १३ मंसिर काठमाण्डौ
बलात्कार सम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ हजार तीन सय ६३ त १८ वर्षमुनिका बालिका छन् ।
महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार भएका थिए । तर, आव ०७६/७७ सम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ । यो वर्ष दुई हजार आठ सय ३१ महिला बलात्कृत भएका थिए । चालू आवको असोजसम्म सात सय २२ महिला बलात्कृत भएको प्रहरीको तथ्यांक छ ।
हरेक वर्ष बलात्कृत हुने बालिकाको संख्या पनि डरलाग्दो गरी बढिरहेको छ । आव ०७०/७१ मा पाँच सय ५९ बालिका बलात्कारको सिकार भएका थिए । गत आवमा आइपुग्दा बलात्कृत बालिकाको संख्या एक हजार तीन सय ९३ पुगेको छ । त्यसमा पनि दुई सय ७३ बालिका त दश वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, चालू आर्थिक वर्षको गत असोजसम्म भएका सात सय २२ घटनामा चार सय ६५ बालिका बलात्कारको सिकार भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार आफन्त र छिमेकीबाटै धेरै बलात्कारका घटना भएका छन् । ‘चार वर्षका नाबालिकासम्म बलात्कारको सिकार भएका छन् । धेरैजसो घटना आफन्त र चिनजानकै व्यक्तिहरूबाट भएका छन्,’ उनले भने । शंकास्पद व्यक्तिबाट टाढा रहन र यस्ता घटनाबाट जोगिन प्रहरीले स्कुलहरूमा गएरै पढाउन समेत थालेको एसएसपी कुँवरले बताए । पछिल्लो समय हिंसा लुकाउनु हुँदैन भन्ने चेतना बढेकाले प्रहरीमा आउने उजुरी पनि बढेको उनको भनाइ छ ।
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आव ०७५/७६ मा देशभर दुई हजार सात सय ५३ महिला बलात्कारको सिकार भएका छन्, जसमध्ये एक हजार दुई सय ३२ बालिका छन् । त्यस्तै, आव ०७४/७५ मा पीडित बनेका एक हजार नौ सय आठ महिलामध्ये सात सय २३ र ०७३/७४ मा एक हजार नौ सय १४ पीडित महिलामध्ये सात सय नौ बालिका रहेको सरकारी तथ्यांक छ ।
आव ०७२/७३ मा देशभर एक हजार ६ सय ५५ महिला बलात्कृत भएका थिए, त्यसमध्ये ६ सय ३५ बालिका छन् । ०७१/७२ मा पीडित बनेका एक हजार ६ सय १५ महिलामध्ये ६ सय ४७ बालिका छन् । त्यस्तै, ०७०/७१ मा एक हजार तीन सय ५६ महिला बलात्कारको सिकार बनेका थिए, जसमा तीन सय ९६ बालिका रहेको महान्यायाधिवक्ता कार्यालयको तथ्यांक छ ।
गत वर्ष बलात्कृत एक हजार तीन सय ९३ बालिकामध्ये दुई सय ७३ जना १० वर्षमुनिका छन् । त्यस्तै, ११ देखि १६ वर्षसम्मका आठ सय एक र १७ देखि १८ वर्ष उमेर समूहका तीन सय १९ जना बलात्कृत भएका छन् । प्रहरीको तथ्यांक अनुसार गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा तीन सय १९ र सबैभन्दा कम कर्णालीमा ८१ बालिका बलात्कृत भएका छन् । त्यस्तै, लुम्बिनीमा दुई सय ३४, प्रदेश २ मा दुई सय चार, बागमतीमा एक सय ६५, काठमाडौं उपत्यकामा एक सय ३७, सुदूरपश्चिममा एक सय २९ र गण्डकीमा एक सय २३ बालिका बलात्कारको सिकार भएका छन् ।

यो वर्ष दैनिक आठ बलात्कारका घटना

चालू आर्थिक वर्षको तीन महिनामा औसत दैनिक आठ बलात्कार तथा बलात्कार प्रयासका घटना भएका छन् । साउनदेखि असोजसम्म सात सय २२ घटना प्रहरीमा दर्ता भएका छन् । आर्थिक वर्ष ०७५/७६ मा बलात्कारपछि हत्याका ११ घटना भएका थिए । त्यस्तै, आव ०७६/७७ मा दुई र चालू आवमा एक बलात्कारपछि हत्या घटना भएको प्रहरीको तथ्यांक छ ।

सिआइबीको नयाँ टोली कञ्चनपुरमा

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले नयाँ टोली पठाएर पुनः अनुसन्धान अघि बढाएको छ । सिआइबीका डिएसपीको नेतृत्वमा करिब एक महिनादेखि नयाँ टोलीले कञ्चनपुरमा बसेर अनुसन्धान गरिरहेको छ । १० साउन ०७५ मा निर्मलाको बलात्कारपछि हत्या भएको थियो । तर, दुई वर्ष बित्दा पनि प्रहरीले जघन्य अपराधका दोषी पत्ता लगाउन सकेको छैन, जसले प्रहरी संगठनकै छवि धुमिल्याएको छ । प्रहरीका अनुसार नयाँ टोलीले पुरानै प्रमाणहरू केलाएर अनुसन्धान अघि बढाएको छ । अहिलेसम्म नयाँ तथ्य फेला पार्न सकेको छैन । विगतमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टमाथि नै अनुसन्धान केन्द्रित रहेको स्रोत बताउँछ ।
हरेक कोणबाट अपराधको सबैभन्दा नजिक विष्ट नै देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू बताउँछन् । तर, अकाट्य प्रमाण नहुँदा उनलाई फेरि पक्राउ गर्ने आँट प्रहरीले गरेको छैन । यसअघि अपराध स्वीकार गरे पनि डिएनए रिपोर्ट नमिलेपछि विष्टलाई मुद्दा नचलाई छाडिएको थियो । पछि डिएनए परीक्षणमा नै त्रुटि भएको खुलेपछि प्रहरीले हत्यामा उनकै संलग्नताको आशंका गर्दै आएको छ ।
अनुसन्धानमा खटिएका प्रहरीलाई नै दोषी देखाइएको आफ्नै अध्ययन प्रतिवेदन प्रहरी प्रधान कार्यालयले यसअघि नै खारेज गरिसकेको छ । तत्कालीन एआइजी धिरु बस्नेत नेतृत्वको समितिले घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको प्रतिवेदन तयार गरेको थियो, जसलाई तथ्यमा आधारित नभएको भन्दै गत फागुनमा तत्कालीन डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले गलत ठहर गरेको थियो ।
केसीको समितिले दिएको प्रतिवेदनका आधारमा अहिले प्रहरीले नयाँ कोणबाट अनुसन्धान गरिरहेको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले निर्मला पन्त बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरी टोली निरन्तर सक्रिय रहेको बताए । राष्ट्रिय मानव अधिकार आयोग र डिएनएविज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालेको थियो ।
लामो अनुसन्धानमा समेत अन्य कुनै अभियुक्तको सम्भावना नदेखिएको र परिस्थिति जन्य प्रमाणले दिलीप नै अभियुक्त भएको निष्कर्ष प्रहरीका पछिल्ला अनुसन्धान टोलीले निकालेका छन् । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाशअघि नै दिलीपलाई फेरि पक्राउ गरेर मुद्दा चलाई यो घटना सुल्झाउन खोजेका थिए । बलियो प्रमाण नहुँदा फेरि विवाद हुन सक्ने गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयको रायपछि उनी पछि हटेका थिए ।
प्रहरी विरुद्ध चलेको मुद्दाको अदालतबाट किनारा लागेपछि मात्र दिलीपविरुद्ध मुद्दा लैजान मिल्ने महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरूको तर्क थियो । सो प्रकरणमा मुद्दा खेपेका प्रहरीहरूले सफाइ पाइसकेका छन् । जसबाट प्रहरीलाई फेरि अनुसन्धान अघि बढाउन सहज भएको छ ।
परिस्थितिजन्य प्रमाण र स्थानीयको भनाइका आधारमा विष्ट नै अभियुक्त भएको निष्कर्षमा अनुसन्धानमा आबद्ध प्रहरी पुगेका छन् । विष्टले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै उनीविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ ।
विष्टले प्रहरीलाई देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए । रिपोर्ट पनि देब्रे हात नै प्रयोग भएको आएको थियो । निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन । तर, निर्मलाकी आमालाई थाहा थियो । त्यस्तै, निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा शव फालेको विष्टले बताएका थिए ।
विष्टको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो । सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरीसमेत दिएकी थिइन् । त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थल नजिकै देखेको भनेर दुई स्थानीयले कागज गरेका छन् । घटनापछि पनि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरण समेत प्रहरीले स्थानीय मार्फत संकलन गरिसकेको छ । अर्का एक स्थानीयसँग दिलीपले निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियो समेत प्रहरीले प्राप्त गरेको छ । भिडियो खिच्ने व्यक्तिले समेत प्रहरीसँग कागज गरिदिएका छन् ।
(नयाँपत्रिकावाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *