वेथिति श्रृंखला-२५ : चालकलाई मस्ति, नागरिकलाई सास्ति

फाेटाे क्याप्सन : दैलेखकाे जिल्ला अदालत अगाडी र एनएमवि वैंक नजिक नाे पार्किङ लेखिएकाे ठाउँमा राेकेर राखिएका सवारी साधन । दिनहुँ यस्ताे देख्दा देख्दै पनि नियामक निकाय जिल्ला प्रहरी कार्यालय दैलेख माैन वसेकाे छ ।

मातृभूमी संवाददाता । १९ मंसिर दैलेख
दैलेखमा विगत दुईतिन वर्ष यता दैलेखमा अटोरिक्सा निकै प्रयोगमा आएको छ । अहिले दैलेख सदरमुकाम हुँदै लोहोरे, चुप्रा, भैसेखोर, विजौरा, नयाँगाउँ, किमुगाउँ, ठालुडाँडा लगाएतका छोटो दुरीमा पैदल यात्रा गर्नेहरुको पहिलो रोजाई नै अटोरिक्सा हुने गरेको छ । तर दैलेखमा सञ्चालित धेरैजसो अटोरिक्साका चालकसँग चालक अनुमतिपत्र (लाइसेन्स) नै छैन । जिल्लामा करीब १ सय भन्दा वढि अटोरिक्सा सञ्चालनमा छन् । यि मध्ये सिमित चालकसँग मात्र लाइसेन्स छ ।
लाइसेन्सविना अटोरिक्सा चलाउनेलाई नियन्त्रणमा लिने, जरीवाना गर्ने र केहिदिन अटोरिक्सा जिल्ला प्रहरी कार्यालयमा राख्ने वाहेक अरु केहि कारवाही हुन सकेको छैन । जिल्लाका नारायण नगरपालिका, दुल्लु नगरपालिका सहित तल्लो डुंगेश्वर, चुप्रा, भैसेखोर र माथिल्लो डुंगेश्वर क्षेत्रमा अटोरिक्सा संचालनमा छन् ।
अटोरिक्सा चलाउन सम्बन्धित स्थानीय तहबाट अनुमति लिनुपर्ने भनिएकोमा यसको समेत कार्यान्वयन नभएको पाईएको छ । यस्तै यातायात व्यवस्था कार्यालयले पहाडी भेगमा तीनपांग्रे सवारीसाधन सञ्चालनको अनुमति दिएको छैन । तर दैलेखमा तिनपांग्रे सवारी साधन निर्वाध संचालन भैरहेका छन् । जिल्लामा सञ्चालन हुने केहि अटोरिक्साहरू यातायात व्यवस्था कार्यालयमा समेत दर्ता नभएको पाईएको छ ।

मनोमानी भाडा असुल

अटोरिक्सा संचालनका लागी स्थानीय तहले अनुमति दिए पनि भाडा दर कायम नगर्दा अटो चालकहरुले मनोमानी भाडा लिने गरेका छन् । दैलेखको देवकोटा चोकदेखी उत्तर, दक्षिण, पुर्व, पश्चिम अटोरिक्सा संचालन भएपनि सम्वन्धित निकायले भाडादर कायम नगर्दा मनोमानी भाडा असुल्ने गरेको पाईएको छ ।

साधन र गन्तव्य एउटै भाडा फरक

फरक–फरक अटो चालकले एउटै गन्तव्यमा पु¥याएको भाडा फरक–फरक लिने गरेको स्थानीयको गुनासो छ । चालकै पिच्छे भाडा दर पनि फरक–फरक भएको स्थानीय वताउँछन् । केहि समय अघि जिल्लाको नारायण नगरपालिकाले नगरपालिका भित्र संचालन हुने अटोरिक्साको भाडादर कायम गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा चालकले मनोमानी भाडा असुल्दै आएका छन् ।

जथाभावी पार्किङ्गले सास्ति

सम्वन्धीत निकायले सवारी साधन पार्किङ्गको निश्चित ठाउँ (एरिया) नतोक्दा पैदल यात्रीलाई सास्ति हुने गरेको छ । मोटरसाईकल, जिपकार तथा अटोरिक्साको सम्वन्धित निकायले निश्चित पार्किङ्ग एरिया नतोक्दा पैदल यात्रीले सास्ति खेप्नु परेको पैदल यात्रीको गुनासो छ ।
विषेशगरी विद्यालय संचालन भएको दिन विहान ९ देखी १० वजे सम्म र साँझ ३ देखी ४ वजे सम्म विद्यार्थी तथा पैदल यात्रीले निकै सास्ति खेप्नु परेको छ । सडक छेउछाउमा जथाभावी सवारी साधन पार्किङ्ग गरि राख्ने हुनाले र ठुला यातायातका साधन वजार क्षेत्रमा प्रवेश गराउनु, मालवाहक यातायातका साधन जहाँपायो त्यहिँ रोकी सामान लोड अनलोड गर्नुले विहान र वेलुका देवकोटा चोक देखी नयाँ वजार हाईस्कुल सम्म जाम पर्ने गरेको छ । यि र यस्ता विषयमा सम्वन्धित निकाय मौन रहनुले पनि आम नागरिकले निकै सास्ति खेप्नु परेको स्थानीयहरु वताउँछन् ।

नो पार्किङ्ग मै पार्किङ्ग

दैलेख सदरमुकामको जिल्ला अदालत अगाडी देखी हाईस्कुल सम्म नो पार्किङ्ग अर्थात पार्किङ्गका लागी निषेध गरिएपनि त्यस्ता ठाउँमा सवारी तथा यातायातका साधन निर्वाध पार्किङ्ग गरि राखिएको पाईन्छ । जिल्ला अदालत अगाडी दुई स्थानमा नो पार्किङ्गको वोर्ड राखिएको छ तर त्यहाँ दिनहुँ जिपकार तथा मोटरसाईकल पार्किङ्ग गर्ने गरिएको छ ।
यस्तै सदरमुकामको एनएमवि वैक अगाडी पनि नो पार्किङ्गको वोर्ड राखिएको छ तर त्यहाँ सधै जिपकार र मोटरसाईकल पार्किङ्ग गर्ने गरिएको छ । यता दुई पांग्रे सवारी वाहेकलाई निषेध लेखिएको ठाउँमा समेत चार पांग्रे यातायातका साधन निर्वाध गुडिरहेका हुन्छन् ।

नियामक निकाय दैलख प्रहरी मौन

जिल्ला अदालत दैलेखले केहि समय अघि नारायण नगरपालिका र जिल्ला प्रहरी कार्यालय दैलेखका नाउँमा जथाभावी पार्किङ्ग गर्न नदिनु, सडक तथा पेटिमा पसल र निर्माण सामाग्री राख्न नदिनु भनि दिएको आदेश पालना गर्न सकेको छैन । त्यतिमात्र हैन धेरै चालकलाई जिल्ला अदालत अगाडी पार्किङ्ग गर्न पाईदैन भन्ने थाहा हुँदाहुँदै पनि उनीहरुले अदालत अगाडी राखिएका नो पार्किङ्गका वोर्डको वेवास्ता गर्दै पार्किङ्ग गर्ने गरेको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलख र ट्राफिक प्रहरीले आफैले राखेका नो पार्किङ्ग, दुई पांग्रे वाहेक अरुलाई निषेध लेखिएका वोर्डको वास्ता नै नगरी जथाभावी सवारी साधन संचालन गर्न दिने गरेको छ ।
यि र यस्ता विषयको कार्यान्वयन गर्ने निकाय जिल्ला प्रहरी कार्यालय दैलेख मौन रहेको पाईएको छ । यसरी जिल्ला प्रहरी कार्यालय दैलेख मौन रहनु कार्यालय प्रमुखको उदाशिनता रहेको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *