सिसी क्यामेरा जिर्ण, सौयवत्ति वन्द

मातृभूमी संवाददाता । २१ मंसिर दैलेख
दैलेख सदरमुकाममा केहि वर्ष अघि दैलेख उद्योग वाणिज्य संघको अगुवाई र विभिन्न संघ संस्था तथा व्यापारीहरुको सहयोगमा दैलेख वजार लगाएतका व्यापारिक केन्द्रमा अपराधिक गतिविधि रोक्न भन्दै जिल्ला प्रहरी कार्यालय दैलेखको निगरानीमा रहने गरी निकै तामझामका साथ सि.सि. क्यामेरा जडा गरी उद्घाटन गरिएको थियो । दैलेख सदरमुकामका देवकोटा चोक, लोकतान्त्रिक चोक, डेकेन्द्र चोक, गणेश चोक, जनता निमावि नजिक दैलेख सुर्खेत सिमा नजिक रहेको रानिमत्ता प्रहरी चौकी नजिक सि.सि. क्यामेरा जडान गरिएको थियो । तर अहिले कुनै पनि सि.सि. क्यामेराले काम गर्दैनन् । केहि समय अघि सरोकारवाला निकायका प्रतिनिधीले विग्रियका सि.सि. क्यामेरा मर्मत गर्ने र केहि थप्ने योजना वनाए । योजना वनाउने तर कार्यान्वयन नहुँदा अवस्था उस्तै छ ।
हाल दैलेख सदरमुकाममा जडित र विग्रिएका क्यामेरा मर्मत सुधारका लागी सम्वन्धित पक्षले ध्यान नदिएको स्थानीयको गुनासो छ । तिनको मर्मत समेत गर्नमा कसैले चासो दिएका छैनन् । क्यामेरा जडानले सदरमुकाममा व्यवसायिक सुरक्षा तथा अपराधिक गतिविधि रोक्न प्रहरीलाई सहयोग पुगेको थियो । सदरमुकाममा अपराधिक गतविधिमा संलग्न भएर भागेर जाने मुख्यद्वार पुग्दासम्म प्रहरीले पक्राउ गर्नमा सहजता होस् भनेर सि.सि. क्यामेरा जडान गरिएको थियो । सदरमुकामको बजार क्षेत्र र मुख्य चोकका क्यामेराहरुको निगरानी प्रहरीले जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट गर्ने गरेको थियो । तर नगरमा जडित सि.सि. क्यामेरा विग्रिदा र मर्मतमा कसैले ध्यान नदिदा शान्ति सुरक्षामा चुनौती थपिएको वुद्धिजिवीको भनाइ छ ।

करोडौँका सौर्य वत्तिको अवस्था उस्तै

नारायण नगरपालिका दैलेखले केहि वर्ष अघी करोडौँ रकम खर्चेर नगरपालिका भित्र जडान गरेका सौर्यवत्ति अहिले केहि विग्रिएका छन् । ५ वर्ष ग्यारेन्टी भएको व्याट्रि र २५ वर्ष ग्यारेन्टि भएको सौर्यपाता भएको स्वचालित (अटोमेटिक) सौर्यवत्ति जडान गरिएको भएपनि छोटो समयमै केहिले काम गर्न छोडेको स्थानीयको भनाई छ ।
सदरमुकामका अधिकांस सौर्यवत्तिले काम गर्न छोडेका छन् । सदरमुकामको देवकोटा चोक देखी गणेशचोक सम्मका धेरै सौय वत्तिले काम गर्न छोडेका छन् । यस्तै पुरानो वसपार्क लगाएत अन्य ठाउँका सौर्या वत्तिको अवस्था पनि उस्तै छ । कुनै एक ठाउँको ठाउँको सौर्यवत्ति विग्रिय त्यसलाई मर्मत सुधार गर्नुको साटो एक ठाउँको सौर्यवत्ति लिएर अर्काे ठाउँमा जडान गर्ने गरिएको एक स्थानीयले वताए ।

सार्वजनिक स्थलमा कम

दैलेख जिल्लामा सार्वजनिक स्थलभन्दा विभिन्न संघ संस्था, कार्यालय र व्यापारिहरुले बढी सीसीटिभी क्यामेरा जडान गरेका छन् । दैलेख जिल्लामा १८ संघसंस्था, कार्यालय तथा व्यापारीहरुले सीसी क्यामेरा जडान गरिएका छन् । यहाँ सि.सि. क्यामेरा जडान गरेकाहरु मध्ये धेरैले जिल्ला प्रशासन कार्यालयवाट अनुमति लिनु पर्ने भएपनि नलिएको पाईएको छ । संघसंस्था, कार्यालय तथा व्यापारीहरुले सिसी क्यामेरा जडानका लागी स्थानीय जिल्ला प्रशासनवाट अनुमति लिनु पर्ने भएपनि नलिएको अनुगमन हुनसकिरहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *