वेथिति श्रृंखला-२६ : वेथितिले गाँजेको ठाँटिकाँध
मातृभूमी संवाददाता । २२ मंसिर दैलेख
ठाँटीकाध गाउँपालिकामा डेढ दशक अघि बनेको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन हस्तान्तरण नहुँदै भत्काउन लागिएको छ । करिब डेढ दशक अघि निर्माण सम्पन्न भएका तर हस्तान्तरण नभएका भवन भत्काएर त्यहाँ नयाँ भवन बनाउन लागिएको छ । २०५९ सालमा सम्झौता भई ३ वर्षमा निर्माण सम्पन्न भएको भवनमा ८२ लाख रुपैयाँ खर्च भएको थियो । किसान कन्स्ट्रक्सनले एउटा ठूलो र दुईवटा साना भवन बनाएको थियो । स्वास्थ्य केन्द्रले अहिले त्यसै भवनवाट सेवा दिईरहेको छ ।
‘हामीले सम्झौता अनुसार समयमै भवन निर्माण गरेका थियौं, तर सशस्त्र द्वन्द्वलगायत विभिन्न कारणले सम्बन्धित निकायलाई हस्तान्तरण गर्न सकिएन,’ कम्पनीका प्रतिनिधि लोकेन्द्र शाहीले भने, ‘अहिले ती भवन भत्काउन लागिएको थाहा पाउँदा दुःख लागेको छ ।’ भवन हस्तान्तरण नहुँदा ६ लाख रुपैयाँ धरौटी पनि फिर्ता नपाएको उनले बताए ।
नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रलाई १५ शैयाको अस्पताल बनाउने निर्णय गरेपछि भवन भत्काउन लागिएको हो । प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. दिनेश शाहीका अनुसार अस्पतालको संरचना निर्माणको लागि संघीय सरकारले १८ करोड रुपैयाँ विनियोजन गरेको छ । पुराना भवन भत्काएर संघीय सरकारको बजेटबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको उनले जानकारी दिए ।
संघीय संरचना अनुसार गाउँपालिका स्थापना भएपछि हस्तान्तरण नभई लामो समयदेखि अलपत्र परेका भवनको डा. विकास शाह कार्यालय प्रमुख भएर गएपछि प्रयोगमा ल्याईएको थियो । तर, पछिल्लो समय गाउँपालिकाले स्वास्थ्य केन्द्रको प्राडगणमा नै नयाँ भवन वनाउन थालेको थियो । उक्त भवन पनि अहिले निर्माणधिन अवस्थामा अलपत्र नै रहेको छ । हाल स्वास्थ्य केन्द्रको नाममा १० रोपनी जग्गा छ ।
गाउँपालिका क्षेत्रमा सबैभन्दा उपयुक्त जग्गा स्वास्थ्य केन्द्र कै भएकाले गाउँपालिकाले भवन आफ्नो स्वामित्वमा लिन खोजेको थियो । उसले सोही स्थानमा गाउँपालिकाको केन्द्र राख्ने योजना बनाएको थियो । तर, विवाद भएपछि गाउँपालिका आफ्नो योजनाबाट पछि हट्यो । ‘लाखौं रुपैयाँ खर्च गरेर बनाइएका भवन अलपत्र पर्दा बालुवामा पानी खन्याएजस्तै भएको छ,’ स्थानीयबासी विजय शाहीले भने, ‘त्यही भवनलाई सदुपयोग गरेर थप बजेटबाट अरु संरचना निर्माण गर्न सकिन्थ्यो, तर यसमा कसैको ध्यान छैन ।’
गाउँपालिका अध्यक्ष धीरबहादुर शाही भने ठेकेदार र प्राविधिकले निर्माण सम्पन्नको झूठो प्रतिवेदन बनाई भुक्तानी लिएको बताउँछन् । अलपत्र अवस्थामा रहेका भवन जिम्मा लिएर प्रयोगमा ल्याउने प्रयास गरिए पनि स्वास्थ्य केन्द्रले असहयोग गरेको उनको भनाइ छ । अध्यक्ष शाहीले स्वास्थ्य केन्द्रमै रहेका अन्य दुईवटा अलपत्र भवनलाई मर्मतसम्भार गरी प्रयोगमा ल्याउन थालेको जानकारी दिए । ती भवनको लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ छुट्याइएको छ ।
स्थानीयबासीले भवन हस्तान्तरण नगरेरै भत्काउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । यसअघि पनि भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी दिइएको थियो । ‘लाखौं रुपैयाँ खर्च गरेर बनेका भवन प्रयोग नगरेरै भत्काउने अवस्था कसरी आयो ? यसबारे छानबिन गरिनुपर्छ,’ एक स्थानीयले भने, ‘भवन निर्माणमै पनि अनियमितता भएको छ, त्यसको पनि अनुसन्धान गरिनुपर्छ ।’
एक स्थानीयले नाम नछाप्ने सर्तमा भने, ‘संघियतासँगै स्वास्थ्य केन्द्रको प्रांगणमा गाउँपालिकाले वनाउन लागेको भवन निर्माणधिन अवस्थामा अलपत्र परेको छ । यसमा पनि गाउँपालिकाका जनप्रतिनिधीले रकममा चलखेल गरेको हुनुपर्छ ।’ उनले स्वास्थ्य केन्द्रमा एम्वुलेन्स ल्याएको तर मर्मत संभार नहुँदा थन्किएको वताए । यहाँ विरामी तथा सुत्केरीले समयमै उपचार नपाउँदा मृत्युवरण गर्नुपर्छ तर एम्वुलेन्स विग्रीएर थन्किएको छ । यसको मर्मत गर्दा अलि मोटै रकम कमिसन आउने भए मर्मत हुन्थ्यो की ? भन्दै प्रश्न गरे ।
दैलेखको ठाँटिकाँध गाउँपालिका वेथितिले जेलिएको स्थानीयले आरोप लगाएका छन् । २०७५ साल चैत्र २४ र २५ गते परेको असिनापानीले गाउँपालिकाको वडा नं. १, २ र ६ निकै क्षति पु¥यायो । त्यसको अनुगमनका लागी गाउँपालिकाका अध्यक्ष धिरवहादुर शाहीले अनुरोध गर्नुभयो । हामी गयौँ । तर त्यतिवेला प्रयोग गरिएका दुई वटा गाडिवालले अहिले सम्म भाडा नपाएको नाम नछाप्ने शर्तमा गाडी साहुले भने, हामीले गाडि भाडा अहिले सम्म पाएका छैनौं । गाउँपालिकामा फोन गर्दा अनेक वाहाना गर्छन् । कसलाई भन्नु, कसरी भाडा असुल गर्नु समस्या छ ।
यस्तै कोरोना भाईरस (कोभिड–१९) को प्रकोपका वेला विद्यालयमा सल्लीपिरल ओछ्याएर सुताईयो । अहिले महामारी नियन्त्रण गर्न १ करोड ५० लाख खर्च भएको भनेको छ के, कसरी, कति भनेर केहि खुलाएको छैन । कोरोना नियन्त्रणका नाममा लाखौँ रकम हिनामिना भएको हुनसक्ने स्थानीयले आरोप लगाएका छन् ।