दैलेखमा थप एक कोरोना संक्रमितको मृत्यु
मातृभूमी संवाददाता । २५ मंसिर दैलेख
दैलेखमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका अनुसार गुराँस गाउँपालिका ५ बस्ने ८७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै दैलेखमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
श्वास फेर्न कठिनाइ भएपछि उनलाई मंसिर १५ गते प्रदेश अस्पताल सुर्खेतको कोभिड १९ आइसीयुमा भर्ना गरिएको थियो । सोहि दिन एक्सपर्ट विधिबाट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । भर्ना हुने समयमै ती पुरुषमा अक्सिजन स्याचुरेसन ८५ प्रतिशत मात्रै रहेको महाशाखाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
रगतमा चिनीको मात्रा समेत उच्च देखिएपछि बुधबार रातीदेखि इन्सुनिलबाट उपचार गरिएको थियो । विज्ञप्तिमा उल्लेख भएअनुसार ती पुरुषको बिहीबार बिहान मृत्यु भएको हो । उनी कर्णालीमा कोभिड १९ को संक्रमण पुष्टि भएका २१ औँ मृतक हुन् ।
नेपालमा थप १ हजार २ सय ७ जनामा संक्रमण
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सहित कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
१ हजार ६४ जना घर फर्किए
यस्तै नेपालमा बिहीबार १ हजार ६४ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ लाख ३१ हजार ६ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस व्रिफिङ मार्फत जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण जितेर घर फर्किनेको दर ९४.२ प्रतिशत हो ।
१२ हजार वढि संक्रिय संक्रमित
हाल देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ३ सय ८६ रहेको छ । यस्तै अहिले ५ सय १५ जना क्वारेन्टिन र १२ हजार ३ सय ८६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । कोरोनाका गम्भीर २ सय ९ जनाको आइसीयूमा र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । बिहीबार ७ हजार २ सय ३२ जनाको नमूना स्वाब परीक्षण गराउँदा १ हजार २ सय १७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ सय ४३ महिला र ७ सय ७४ पुरुष सहित १ हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।