एक अभियुक्त पक्राउ, तिन अभियुक्त अझै फरार

मातृभूमी संवाददाता । ३० मंसिर दैलेख
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न ठहर भएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार थापाको हत्यामा संलग्न ठहर भएका दैलेखको नौमुले गाउँपालिका वडा नं. ३ द्धारीका ५८ वर्षिय हरिलाल पुनलाई प्रहरीले सोमवार उनकै घरवाट पक्राउ गरेको छ ।
पत्रकार थापाको हत्यामा संलग्न ९ जनामध्ये पुनलाई पक्राउ गरि मंगलवार जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला अदालत दैलेखले २०७१ मंसीर २१ गते फैसला गरि पुनलाई २ वर्ष कैद सजाय तोकेको थियो । न्यायधिस डिल्लीरत्न श्रेष्ठको ईजलासले तत्कालिन अवस्थामा पक्राउ परेका पुनलाई पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महिना १ दिन जिल्ला कारागारमा थुनामा रहेका थिए ।
थुनामा रहेको अवस्थामा पुन तत्कालिन पुनरावेदन अदालत सुर्खेतवाट वन्दी प्रत्यक्षीकरण अनुसार थुनामुक्त भएका थिए । पुनरावेदन अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भईसकेपछि जिल्ला न्यायधिस श्रेष्ठकै ईजलासले २ वर्ष कैद सजाय तोकेपछि उनी फरार रहेको खुलाएको र उनको ४ महिना २९ दिन कैद भुक्तान वाँकी रहेकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
पत्रकार थापाको श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्धामा तत्कालिन ९ जना माओवादी कार्यकर्ता विरुद्ध किटानी जाहेरी दिएपछि तत्कालिन अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि ५ जनासँगै पुनपनि पुर्पक्षका लागि थुनामा रहेका थिए । अन्य ४ जना भने जिल्ला अदालतवाट भएको फैसला अनुसार कैद भुक्तानी गरी मुक्त भैसकेका छन् ।
पत्रकार थापाको हत्याका मुख्य अभियुक्त ठहरिएका अरुण भनिने वमवहादुर खड्कालाई गएको फागुनमा पक्राउ गरिएको थियो । उनी अहिले थुनामा रहेका छन् भने अन्य ३ जना हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
पत्रकार थापालाई माओवादी कार्यकर्ताले २०६१ साउन २७ गते नौमुले गाउँपालिका ३ द्धारीमा हत्या गरी खाल्डोमा गाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *