वलत्कार पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
मातृभूमी संवाददाता । ८ पुस दैलेख
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखको आठबीस नगरपालिका १ सात्तलाकी बलात्कार पीडित शरीरले अपाङ्ग ३८ वर्षीया एकल महिलालाई १० हजार रुपैंयाँ सहायता प्रदान गरेको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको मानव अधिकार सहायता कोषबाट प्राप्त सो रकम नेपाल बार एशासियसन दैलेख जिल्ला अध्यक्ष अधिवक्ता माधवराज अधिकारीले वुधवार दैलेख सदरमुकाममा एक कार्यक्रमकावीच सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाल पत्रकार महासंघका जिल्ला सचिव नबिन शर्मा, रिपोर्टर्स क्लवका जिल्ला अध्यक्ष अभिशेक अनुराग, पत्रकारहरु भरतराज अधिकारी, भिम सिजापति, यामराज बिष्ट समेतको रोहवरमा पीडित महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको इन्सेकका जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
जिल्लामा हिंसा पीडित एक जना महिलालाई सहायता गर्न सकिने रकमले उनलाई सहयोग गरिएको सुनारले वताए । गाउँकै एक २८ वर्षीय पुरुषबाट मंसिर १० गते राति घरमै बलात्कार भएको विषयमा कानूनी प्रक्रिया अघि बढेपछि आरोपित फरार भएका छन् ।
तीन सन्तानकी आमा ती महिलाका पतिको तीन वर्ष अघि निधन भएको थियो । शारीरिक रुपमा असक्त भएका कारण उनले मजदूरी पाउनु पनि मुश्किल भएको कारण घरखर्च र बालबालिकाको पढाई लेखाई गर्न कठिनाई भएको पिडित महिलाले वताएकी छन् ।
इन्सेकले सहायता गर्न १० हजार रुपैंयाँ लिन सदरमुकाम आएकी पीडित महिलालाई नेपाल बारका जिल्ला अध्यक्ष माधवराज अधिकारी, दैलेखका व्यापारी मनोज थापा र शुभचिन्तकहरुले २२ सय रुपैंयाँ यातायात खर्च, स्वीटर र जुत्ता किनेर दिएको इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले जानकारी दिए ।
यस्तै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले हिंसा पीडित बालक र दुई महिलालाई न्यायिक प्रक्रियामा जान कानुनी उपचारका लागि पुस ६ गते आर्थिक सहयोग प्रदान गरेको छ । घरेलु हिंसा पीडित वीरेन्द्रनगर नगरपालिका ४ का १८ वर्षीय संजोग सार्की, लेकवेसी नगरपालिका १ की २२ वर्षीया भावना बडुवाल र पञ्चपुरी नगरपालिका ९ की ३१ वर्षीया दिपा बुढालाई जनही दश हजारका दरले सहयोग प्रदान गरिएको हो ।
इन्सेक सुर्खेतद्वारा गठित मानव अधिकार सहायता कक्षमा परेको निवेदनपछि सहायता कक्षले पुस ४ गते गरेको सिफारिसको आधारमा उनीहरूलाई सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रलेख अधिकृत टीका विष्टले बताए । हिंसा पीडितहरूले दिएको निवेदन अनुसार सार्की सौतेनी आमाबाट, बडुवाल र बुढा पति तथा घरपरिवारबाट हिंसामा परेका हुन् ।