अझै प्रयोगमा आएनन् सार्वजनिक शौचालय
मातृभूमी संवाददाता । १० पौष दैलेख
दैलेख सदरमुकाममा केहि वर्षअघि निर्माण गरिएका सार्वजनिक शौचालय प्रयोग विहिन भएका छन् । नारायण नगरपालिका दैलेखले सर्वसाधारणका लागि करिव ५० लाखभन्दा बढी खर्चिएर निर्माण गरिएका ४ वटा सार्वजनिक शौचालय प्रयोग विहिन भएका हुन् ।
सर्वसाधारणहरुको पहुँच भन्दा टाढा शौचालय निर्माण गर्दा प्रयोगमा नआएको स्थानीयको भनाई छ । शौचालय प्रयोग विहिन हुँदा जिर्ण हुँदै गएको छ । ३ वटा शौचालय पायक नपर्ने स्थानमा बनाएको र १ वटा विद्यालयभित्र बनाएका कारण नागरिकहरुले प्रयोग गर्न पाएका छैनन् । शौचालय कहाँ बनाउने भनेर छलफल नै नगरी मनोमानी रुपमा निर्माण गर्दा प्रयोग विहिन वन्दै गएको स्थानीयको भनाई छ ।
सदरमुकामको डेकेन्द्र चोकदेखि पश्चिम २ सय मिटर भित्र, गणेश चोकदेखि ५० मिटर पुर्व उद्योग वाणिज्य संघको आडमा, त्रिभुवन माविको परिसर भित्र र भगवतीटोल स्थित पुरानो बसपार्कमा गरि ४ सार्वजनिक शौचालय निर्माण गरिएको छ । भगवती टोलस्थित बसपार्क अहिले बन्द छ । गणेशचौकमा बनाएको शौचालय उद्योग बाणिज्य संघको भवनसँगै रहेको छ । निर्माण सम्पन्नसँगै लगाइएको ताला अहिलेसम्म खुल्न सकेको छैन । डेकेन्द्र चोक नजिक रहेको शौचालय वन्द छ । सौचालयको छतमा क्यारेमवोर्ड खेल्ने गरिएको छ ।
शौचालय निर्माणपछि नगरपालिकाले शौचालय संचालनका लागि ठोस कार्ययोजना समेत नबनाएको स्थानीयले वताए । नगरबासीले सदरमुकाममा शौचालय बनाएको पत्तो समेत नपाएको स्थानीयको भनाई छ । शौचालय बनाएपनि प्रयोग गर्नतर्फ नगरपालिकाले अहिलेसम्म ध्यानै दिन नसकेको उनीहरुको आरोप छ ।
स्थानीय वासिन्दाले शौचालय निर्माण भएदेखि अहिलेसम्म जाने बाटो र शौचालयमा ताला छ । सफा गर्ने र निश्चित पैसा उठाउनका लागि मान्छे राख्ने नगरपालिकाले सोच समेत अहिलेसम्म बनाएको छैन । सदरमुकाम आउने नागरिकहरु खाजा खाने बाहानामा होटल तथा आफन्तकै घरमा पुगेर शौच गर्न बाध्य छन् ।
नगरपालिकाले अनावश्यक ठाउँमा लाखौं रकम खर्च गरेको भएपनि नागरिकहरुलाई अत्यावश्यक ठाउँमा खर्चन नसकेको नगरबासीको गुनासो छ । आज भन्दा १ वर्ष अघि नगर प्रमुख रत्नवहादुर खड्काले मातृभूमी अनलाईनसँग कुरा गर्दै शौचालय सुधार गरेर प्रयोगमा ल्याउने वताएका थिए । तर अहिलेसम्म त्यो कार्यान्वयन हुन सकेको छैन् । ४ वटा शौचालय निर्माणका लागि ५० लाख बढी खर्च भैसकेको छ । ठाउँ अभाव लगायतका कारणले बजारभन्दा अलि साइटमा बाध्यताले शौचालय निर्माण गर्नु परेको नगरप्रमुख खड्काले वताएका थिए ।
शौचालय प्रयोगविहिन भएको वर्षाै वितिसक्दा पनि ति शौचालयलाई प्रयोगमा ल्याउनका लागी हाल सम्म पनि नारायण नगरपालिकाले कुनै पनि योजना वनाउन सकेको छैन । नारायण नगरपालिकाले सार्वजनिक महत्वका संरचना निर्माण गर्दा आम नागरिकको पहुँच पुग्ने स्थानमा निर्माण गर्न जरुरी देखिन्छ । यतातर्फ नगरपालिकाको ध्यान कहिले जान्छ त्यो भने हेर्न वाँकी छ ।