ओलीको कदम असंवैधानिक : सभापति वि.सी.

मातृभूमी राजनितिक व्युरो । १३ पौष दैलेख
नेपाली कांग्रेस दैलेखले सोमवार प्रतिनिधीसभा विघठनको विरोधमा दैलेख सदरमुकाममा पनि प्रदर्शन गरेको छ । नेपाली कांग्रेस दैलेखले प्रतिनिधीसभा विघठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानीक कदमका विरुद्ध जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको जनाएको छ ।
कांग्रेसले दैलेख निर्वाचन क्षेत्र नं. १ को दैलेख सदरमुकाम र निर्वाचन क्षेत्र नं. २ को दुल्लुमा विरोध प्रर्दशन गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पौष ५ गते प्रतिनिधीसभा विघठन गरेको विरोधमा कांग्रेसले एकैदिन देशका १ सय ६५ निर्वाचन क्षेत्रमा सडक प्रदर्शन गर्ने कार्यक्रम अन्तरगत दैलेखमा पनि प्रर्दशन गरिएको नेपाली कांग्रेस दैलेखले जनाएको छ ।
दुई वटै निर्वाचन क्षेत्रमा भएको प्रर्दशन सहितको सभालाई जिल्ला स्तरीय नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा कांग्रेस नेताहरुले ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघठनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन् ।
दैलेख निर्वाचन क्षेत्र नं. १ को दैलेख सदरमुकाममा भएको प्रर्दशन सहितको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दैलेखका सभापति कृष्णकुमार बिसीले ओली सरकारको प्रतिनिधीसभा विघठन गर्ने कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको वताएका छन् । सभापति विसीले प्रधानमन्त्री केपी शर्मा ओली जति नै दोषी प्रचण्ड र माधव नेपाल पनि रहेको बताएका छन् । दुईतिहाइको नेकपाको सरकार गठन भएपछि संसद्बाट पारित भएको विधेयकमा समर्थन गरेर प्रधानमन्त्रीलाई बलियो बनाउन प्रचण्ड र नेपाल निरन्तर लागेकाले उनीहरु पनि दोषी रहेको उनले बताए ।
उनले संसद् विघटन भएपछि दुवै जनाले विरोध जनाइरहेता पनि सुरु देखि नै ओलीले ल्याएको विधेयकमा समर्थन गरेर चुप बसेकाले मुलुकमा वर्तमान अवस्थाको सिर्जना भएको उनले सुनाए । सरकारले मुलुकमा सर्वसत्तावाद लाद्ने विधेयकहरु प्रस्तुत गर्दा मौन बसेकै कारण ओलीले आफू खुशी संसद् विघठन गरेको उनको भनाइ छ ।
क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्यायले संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान रक्षाको पक्षमा विरोध प्रर्दशन गरेको बताए । सभालाई नेपाली कांग्रेस दैलेखका पूर्व सभापति जगतजंग थापाले सरकारले आफुले गरेका कमीकमजोरी ढाकछोप गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघठन गरेको दावी गरे । कम्युनिष्टलाई लोकतान्त्रिक बनाउन प्रयास गरे पनि उनीहरुले निरंकुशता छाड्नै सक्दैनन् भन्ने पछिल्लो उदाहरण प्रधानमन्त्री केपी शर्मा ओलीको कदम भएको उनले बताए । कम्युनिष्टको कारण मुलुकमा लोकतन्त्र जोखिममा परेको उनको भनाई छ ।
विरोध सभामा नेपाली कांग्रेस दैलेखका युवा नेता विनोद कुमार श्रेष्ठले २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पहिलो भएको दल पनि कम्युनिष्ट भएको र त्यसले संविधान निर्माण गर्न नसक्दा २०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो भएको नेपाली कांग्रेसको नेतृत्वमा नेपालको संविधान निर्माण भएको र त्यहि संविधानको रक्षाका लागी नेपाली कांग्रेस सडकमा ओर्लिको वताए । उनले आफ्नो घरभित्रको किचलो मिलाउन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघठन गरेको दावी गरे । विरोध सभालाई नेपाली कांग्रेसका क्षेत्रीय सदस्य मञ्जु पाण्डे लगाएतका नेताले सम्बोधन गरेका थिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–नेपाल समुह)ले मंगलबार दैलेखमा विरोध प्रर्दशन गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध व्यापक जनसहभागितामा विरोध प्रर्दशन गर्ने प्रचण्ड–नेपाल समुहका एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *