सामाजिक अभ्यासको जरुरी : न्यायधिस लामिछाने

मातृभूमी संवाददाता । १३ पौष दैलेख
जिल्ला न्यायधीश दण्डपाणी लामिछानेले समाजमा शान्ति र अमनचैन कायम गर्न अपराधलाई निरुत्साहित पार्ने सामाजिक अभ्यासको जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सोमवार दैलेख सदरमुकाममा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक घटनाको वार्षिक समीक्षा कार्यक्रममा पीडित न्यायको लागि लुकेका घटनाहरु सार्वजनिक हुनुपर्ने उनले वताए ।
जिल्ला न्यायाधीश लामिछानेले अपराध घटनामा आएका जाहेरी उपर उचित छानबिन र अनुुसन्धान प्रभावकारी बनाउन सकिए न्याय निरुपण प्रभावकारी हुन सक्ने बताए । कार्यक्रममा दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले पीडितले न्याय पाउन सहज हुने भएकोले मानव अधिकार वर्ष पुस्तक वा आमसञ्चार माध्ययमले लुकेका घटना खोजी गर्न सुझाव दिए ।
त्यस्तै जिल्ला सरकारी वकील कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले बलात्कार घटनामा पीडितलाई प्रभावित पार्ने वा होष्टाइल गराउनेहरुलाई कारवाही गर्न कानून आएको र अव कडाईका साथ कार्यान्वयन गरिने बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बास्तविक पीडितहरुको आत्मबल बढाउन समुदाय र स्थानीय सरकारको तत्परता अझैं जरुरी रहेको वताए ।
इन्सेकको इएलपी कार्यक्रम अन्तरगत नारायण नगरपालिका स्तरीय मानव अधिकार समूहका संयोजक रेखा थापाको अध्यक्षतामा भएको मानव अधिकार वर्ष पुस्तक घटनाको वार्षिक समीक्षा कार्यक्रममा नागरिक समाजका अगुवा र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सन् २०२० को जनवरी यता १ वर्ष अवधिमा २५ वटा बहुविवाह, १२ वटा बलात्कार, ८ वटा बालविवाह, ५ वटा यौन दुव्र्यवहार, ५ जनाको हत्या, ५ वटा अभद्र व्यवहार, ३ वटा आत्महत्या दुरुत्साहन, ३ वटा गम्भीर किसिमका घरेलु हिंसा, २ वटा बाल यौन दुव्र्यवहार, २ वटा बालिका माथि कुटपिट र २ वटा क्वारेन्टीनमा कुटपिट समेत ७२ वटा घटनामा ८० जना पीडित भएको इन्सेकले तथ्यांकमा उल्लेख गरेको छ ।
तथ्यांक बारे चर्चा गर्दै इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले ठूला अपराध घटनामा उजूरी गर्ने संस्कार बसेको तर बलात्कार घटनामा पहुँचवालाहरुले पीडितलाई प्रभाव र दवाव पार्ने अझैं समस्या रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *