गुराँसेमा पर्यटकको चहल–पहल वढ्दै

मातृभूमी संवाददाता । १५ पौष दैलेख
कोरोना संक्रमणको जोखिमले थला परेको नेपालको पर्यटन क्षेत्र केहि खुकुलो भएसँगै पर्यटकको चहल पहलमा पनि सुरु भएको छ । कोरोनाले गर्दा सुनसान जस्तै देखिएका दैलेखका पर्यटन क्षेत्रमा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटकको चहल पहल देखिन थालेको हो ।
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने दैलेखको गुराँस गाउँपालिकामा भ्यू टावर र कलाकृत गुराँसको वोट निर्माण गरिएसँगै अहिले दैनिक दुई/तीन सयको हाराहारीमा वाह्य तथा आन्तरिक पर्यटकहरु आउने गरेको गुराँस गाउँपालिकाले जनाएको छ । गुराँस फुल्ने सिजन र हिउ परेको समयमा मात्र पर्यटकको आगमन हुने भएपनि पर्यटकका लागि रमणिय पर्यटन पार्क भ्यूटावर निर्माण गरिएसँगै नियमित पर्यटकहरुको आगमन हुन थालेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले वताए ।
शनिवारको समयमा दैलेख सुर्खेका अधिकांश विद्यार्थी कर्मचारीहरु गुराँसेमा सुन्दर मौसम अनि गर्मीयाममा चिसो हावा पानीका साथै अग्लो डाडाकाँडा भएकाले पनि घुमफिर गर्न आउने गर्दछन् । पर्यटकको लागि रमणिय क्षेत्र गुराँस गाउँपालिका भएकाले पनि पर्यटन प्रवद्र्धनमा विषेश जोड दिईएको वताउँछन् अध्यक्ष वली । लकडाउनको समयमा सुनासान भएको गुराँसेमा पर्यटन पार्क निर्माण भएसँगै अहिले आन्तिरिक पर्यटकहरु आउने गरेको अध्यक्ष वलीको भनाई छ । ‘गुराँस गाउँपालिकाले व्यवसायीक रुपमा पर्यटन प्रर्वद्धनमा जोड दिँदै आएको छ’ अध्यक्ष वलीले भने, ‘हाम्रो गाउँपालिकाको प्रमुख नीतिमा नै व्यवसायिक पर्यटन लाई अगाडि वढाइने छ ।’
कर्णाली प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालय अन्तरगत डिभिजन वन कार्यालय दैलेखको आर्थिक सहयोगमा गुराँस गाउँपालिकाको समन्वयमा गुराँस गाउँपालिका ५ को सरस्वती सामुदायिक वन उपभोक्ता समितिले त्यस क्षेत्रमा भ्यू टावर निमार्ण गरेको छ । भ्यू टावर निर्माण भएसँगै त्यस क्षेत्रवाट आवत जावत गर्ने जुम्ला, कालिकोट, सुर्खेत र मुगु लागएतका यात्रीहरु समेत भ्यूटावरवाट अवलोकन गर्ने गर्दछन् । खासगरी लालीगुराँस चैत्र, बैशाख महिनामा मात्र फुल्छ भन्ने मान्यतालाई चुनौती दिने गरि निर्माण गरिएको जैबिक बिविधता झल्कने गुराँसको बृक्षलेनै पर्यटकको मन लोभ्याउने गर्दछ ।
बाह्रै महिना राताम्मे हुने गुराँसको रुखाकृति र त्यसैमा बिभिन्न बन्यजन्तु चरा, डाँफे, मुनाल, गिद्ध, चितुवा आदिको आकृतिमा पर्यटकले फोटो खिचाउनेको लागि भिड लाग्ने गरेको वताउँछन् स्थानीय देविराम जैसी । ‘पहिला यस क्षेत्रमा गुराँस फुलेपछि र हिउ परेपछि मात्र आन्तरिक तथा वाह्य पर्यटकहरुको भिडभाड लाग्ने गर्दथ्यो’ स्थानीय जैसीले भने, ‘अहिले भ्यूटावर जस्ता पर्यटकका रोजाइमा पर्ने आर्कषक कलाकृत वस्तुहरु निमार्ण गरिएसंगै आज भोलीवाटै पर्यटकको भिड लाग्ने गरेको छ ।’
कर्णाली प्रदेशकै आलुको पकेट क्षेत्रको रुपमा परिचित गुराँसे क्षेत्र तरकारीको समेत हव मानिन्छ । चारै तिर देखिने तरकारीको खेतीको दृश्य पनि पर्यटकहरुको लागि एक मुख्य आकर्षण हो ।
बर्षको दुई महिना हिउ खेल्न पाउनुको साथै बिभिन्न जातका गुराँस समेत फुल्ने त्यस क्षेत्रमा भ्यूटाव निर्माण भएसँगै खासगरी मौसम सफा भएको बेला भ्यूटावरबाट दक्षिण तर्फका सुर्खेतसँगै बाँके, बर्दिया र कैलाली जिल्लाका फाँटहरुलाई समेत देख्न सकिन्छ । उक्त टावरवाट उत्तरमा पश्चिम नेपालको अपि सैपाल हिमाल र मध्य नेपालको सिस्ने लगाएतको हिमालहरुलाई आँखै अगाडि देख्न सकिन्छ । सामुदायिक बनका लागी आम्दानीसँगै टावरले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगेको वताउँछन् पुन: गाउँपालिकाका अध्यक्ष खेमराज वली ।
आर्थिक बर्ष २०७५/०७६ तथा २०७६/०७७ मा गरी कुल ६० लाख खर्चमा निर्माण गरिएको उक्त भ्यूटावरको व्यवस्थापन केहि वाकीनै रहँदा पनि पर्यटकहरुको चाप बढ्नुले थप हौसला वढेको डिभिजन वन कार्यालय दैलेखले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *