दोस्रो चरणमा दैलेखका २ सय ५२ खोप केन्द्रवाट कोरोना खोप लगाईने

मातृभूमी संवाददाता । १९ फागुन दैलेख
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप लगाउन दैलेखमा २ सय ५२ वटा खोप केन्द्र तोकिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले खोप अभियानलाई तीव्रता दिन जिल्लाका ११ वटै स्थानीय तहका २ सय ५२ स्थानमा खोप केन्द्र तोकेको हो ।
दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन लागिएको छ । यसका लागि कार्यालयले २ सय ५२ वटा खोप केन्द्र सञ्चालन गर्ने जिल्ला स्वास्थ्य कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख एवं खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । निमित्त कार्यालय प्रमुख एवं खोप अधिकृत रेग्मीले दैलेखमा दोस्रो चरणको खोप दुई चरणमा लगाइने र नियमित २ सय ५२ खोप केन्द्र सञ्चालन गरिने जानकारी दिए ।
उनले यही फागुन २३ गतेबाट सरकारले शुरू गर्न लागेको कोरोना विरुद्धको खोप लगाउन स्वास्थ्यकर्मीलाई पूर्ण तालिम दिइने र जनसंख्याको चाप हेरेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मी खटाउने योजना रहेको बताए ।
सरकारको नीति अनुसार दोस्रो चरणका ५५ वर्ष माथिका नागरिकलाई खोप लगाउने तयारी भएकोमा दैलेखमा दोस्रो चरणमा अनुमानित ३६ हजार ९ सय १० जनालाई खोप लगाइने र सरकारले शिक्षकहरूलाई पनि खोप लगाउने अनुमति दिएको खण्डमा यो संख्या बढ्न सक्ने रेग्मीले बताए ।
दैलेखमा हालसम्म १ हजार ४ सय ८३ जना स्वास्थ्यकर्मी र १ हजार ७ सय १ जना पत्रकार, जनप्रतिनिधि, सरकारी कर्मचारी गरी कुल ३ हजार १ सय ८४ जनाले खोप लगाइसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

कर्णालीका ९ जिल्ला कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सुर्खेत बाहेक अरु सबै जिल्ला कोरोना संक्रमण मुक्त भएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेत बाहेक अन्य कुनै पनि जिल्लामा कोरोना भाइरस (कोभिड–१९) का सक्रिय संक्रमित छैनन् ।
मंगलबार सम्म मुगु सहित कर्णालीका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना संक्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार हाल सुर्खेतमा कारोनाका ११ जना सक्रिय संक्रमित रहेका छन् । सुर्खेतमा मंगलबार सम्मको अवधिमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
दैलेखमा १ हजार ६ सय ८५, सल्यानमा ६ सय ९३, जुम्लामा ४ सय २३, कालिकोटमा ३ सय ३३, रुकुम पश्चिममा २ सय ५७, जाजरकोटमा १ सय ५९, हुम्लामा ६१, मुगुमा ४१ र डोल्पाका ४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशमा हालसम्म ७ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ७ हजार ३ सय ८१ संक्रमणमुक्त भएका हुन् । कर्णालीमा संक्रमण पुष्टि भएका ३१ जनाको मृत्यु भएको छ भने २६ हजार ९ सय ९० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका स्वास्थ्य संस्थाबाट यहि फागुन २३ गतेदेखी दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाइने तयारी पनि थालिएको छ । त्यसको लागि आवश्यक तयारी पुरा भएको निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *