दैलेखमा हाफ म्याराथुन प्रतियोगिता हुँदै
मातृभूमी संवाददाता । २० फागुन दैलेख
दैलेखमा पहिलो पटक खुला हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७७ को अवसरमा इन्द्र दल गुल्म दैलेखले हाफ म्याराथुन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गर्न लागेको हो । यहि फागुन २५ गते प्रतियोगिता सञ्चालन हुने इन्द्र दल गुल्मले जनाएको छ । नारायण नगरपालिका ६ काँडाचौरमा शुभारम्भ भई नारायण नगरपालिका स्थित ऐतिहासिक कोतगढीमा सम्पन्न हुने प्रतियोगिता जिल्लाका विभिन्न निकाय र स्थानीयहरुको समन्वयमा सञ्चालन गर्न लागिएको इन्द्र दल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।
खुला तर्फ हाफ म्याराथुन (२१ किलोमिटर) र पाँच किलोमिटर दौड गरी प्रतियोगितामा दुई वटा विधा समावेश गरिएको छ । पाँच किलोमिटर दौडमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी बाहेक राष्ट्र सेवक कर्मचारी र जिल्लाबासी सहभागि हुने पाउनेछन् । खुला तर्फको हाफ म्याराथुन प्रतियोगितामा नारायण नगरपालिका स्थित काँडाचौर, खुर्सानीबारी, भैसेखोर हुँदै रातापानीसम्म पुगि फर्केर भैसेखोर, खुर्सानीबारी, दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको सेनानी विश्वकर्माले जानकारी दिए । पाँच किलोमिटर दौड तर्फ काँडाचौर हुँदै खुर्सानीबारीसम्म पुगि फर्केर काँडाचौर दैलेख बजार हुँदै स्थानीय ऐतिहासिक कोतगढीमा पुग्नुपर्ने रुट तय गरिएको छ ।
हाफ म्याराथुन हुने रुट एक हजार तीन सय ७५ मिटरदेखि एक हजार छ सय २५ मिटर उचाई र पाँच किलोमिटर दौडको रुट एक हजार तीन सय ७५ मिटरदेखि एक हजार पाँच सय २० मिटर उचाई विच रहने र कच्ची तथा पक्की मोटरबाटो रहने सेनाले जनाएको छ ।
हाफ म्याराथुन प्रतियोगितामा खुला तर्फको बिजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । हाफ म्याराथुन प्रतियोगितामा जिल्लाबासी तर्फ बिजेताले ४ हजार, उपविजेताले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै पाँच किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार, चौथो हुनेले ३ हजार र पाँचौ हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पुरुष तर्फ बिजेताले १० हजार, उपविजेताले ७ हजार पाँच सय, तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अन्र्तराष्ट्रिय नियमानुसार सञ्चालन हुने प्रतियोगितामा सहभागि हुन चाहानेहरुले यहि फागुन २४ गतेभित्र फोन इमेल तथा सेनाको काँडाचौर ब्यारेक र सुरक्षा बेश दुल्लुमा नाम दर्ता गराउन सकिने सेनाले जनाएको छ ।