देशलाई आत्मनिर्भर र स्वाभिमान बनाउन सरकारसँग सहमति : महासचिव चन्द
मातृभूमी राजनितिक व्युराे । २१ फागुन काठमाण्डाै
नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको बताएका छन् ।
सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताए । ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै हैन । केही नेताहरुको कुरा हैन । यो सहमतिको पछाडि सपना लुकेको छ । देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र छ । यो भित्र दीर्घ शान्ति, स्थिरता, नेपाली जनताको अहिलेसम्म पूरा नभएको आकांक्षा, युवाहरुभित्र हुर्किएको समृद्ध जीवनको चाहना रहेको छ । यसलाई पूरा सकारात्मक सहयोग पायौं । हामी खुसी छौं,’ चन्दले भने ।
गाउँमा बस्दा सहिद परिवारको एक आमाले आफूलाई टीका लगाइ दिँदै भनेको सन्दर्भ जोड्दै चन्दले भने, ‘हामी एउटा गाउँमा बस्दै गर्दा एउटा सहिदको आमाले टीका लगाइदिनु भयो । उहाँले भन्नु भयो, आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भएको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दु:ख गरी खाने नेपालीको चाहना पूरा भएको छैन । त्यसैले तपाईंहरु हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला । हामीलाई त्यो अनुभूति भएको छ ।’
चन्दले सहिद, घाइते, बेपत्ताको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि बताए ।‘हामी जुन उद्देश्य लिएर कम्युनिष्ट आन्दोलनमा सहभागी भयौं । हाम्रा अग्रजहरु सहभागी हुनुभयो । दु:ख नपाउने नेता छैन । मृत्युको नजिक नपुगेर फर्केको नेता पनि छैन । त्यसैले सबै सहिदलाई सम्मान गरौं । सहिदको सपना मर्न दिने छैनौं । यो प्रतिबद्धता लिएर यहाँ उभिएको छु । घाइते, बेपत्ताको चाहना पूरा गर्ने प्रतिबद्धता गर्नुपर्छ,’ चन्दले भने ।
नेपाली समाज रुपान्तरण प्रक्रियामा अगाडि बढेको भन्दै चन्दले भने, ‘यो कस्तो प्रेम भयो । जुन र घामको जस्तो कहिले भेट नहुने । हाम्रो पनि त्यस्तै त्यस्तै भनेका थिए । जुन र घामको पनि भेट हुँदो रछ ।’