प्रचण्ड संसदीय दलको नेता, १ सय १४ जना सांसदको हस्ताक्षर
मातृभूमी राजनितिक व्युरो । २१ फागुन काठमाण्डौ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो ।
संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए । बैठकअघि प्रचण्ड–माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । ‘शुक्रवार १ सय १४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।
शुक्रवारको प्रचण्ड–माधव पक्षको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा रहेको छ ।
दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सय भन्दा बढी सांसदहरु रहेको दाबी गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाका १ सय ७३ सांसदहरु रहेका छन् ।