नौमूले गाउँपालिका
मातृभूमी संवाददाता । २४ फागुन दैलेख
प्रदेश : कर्णाली
जिल्ला : दैलेख
पालिका : नौमूले गाउँपालिका
प्रमुख : भदे बुढा मगर
उपप्रमुख : अमृता सिंह
प्रमुख प्रशासकीय अधिकृत : गणेशप्रसाद कोईराला
वडा संख्या : ८
जनसंख्या : २०,८०२
घरधुरी संख्या : ४,४००
एक दशक अघिसम्म विकट गाउँको पहिचान बोकेको नौमुले गणतान्त्रिक नेपाल बनेसँगै उन्नति यात्रामा अगाडि बढेको छ । माओवादीले गरेको सशस्त्र द्वन्द्वका कारण विकासबाट विमुख भएको नौमुलेले शान्ति स्थापनासँगै विकासको यात्रा सुरु गरेको हो । साथै नौमुले गाउँपालिका हाइड्रो क्षेत्रको रुपमा परिचित छ । हाइड्रो हवले चिनिने नौमुले पछिल्लो समय तिव्र गतिमा शहरीकरणतर्फ उन्मुख हुँदै आएको छ ।
शसत्र द्वन्द्वकालमा द्वन्द्वग्रस्त क्षेत्र मानिएको नौमुले विस्तारै सहरीकरण हुँदै विकासको गतिविधिहरुमा अगाडि बढ्दै आएको छ । २०६८ को जनगणना अनुसार २० हजार ८ सय २ जनसंख्या रहेको नौमुलेमा बढी जनजाति समुदायको वाहुल्यता रहेको छ । हाइड्रो हबको पहिचान बोकेको नौमुलेको परिचय यतिमा सीमित छैन । फराकिला सडक, शिक्षा, रोजगारी पनि यसका थप परिचय बन्न पुगेका छन् ।
दैलेखको पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने नौमुले गाउँपालिकाका सवै वडाहरुमा सहज रुपले यातायातको पहुँच पुगेको वताउँछन् नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगर । सडक लगायत अन्य विकासे काममा करोडौं लगानीमा नौमुले क्षेत्रमा विकासका कामहरु धमाधम निर्माण भइरहेको अध्यक्ष वुढाले वताए । नौमुले क्षत्रमा हाइड्रो भएपनि अँध्यारोमुनी बस्न वाध्य नौमुलेवासीको समस्यालाई मध्य नजर गर्दै वजारमा बत्ती पु¥याइएको अध्यक्ष वुढाले बताए । ‘धेरै मेहेनतपछि नौमुलेमा बत्ती पु¥याउन सफल भएका छौं,’ अध्यक्ष वुढाले भने, ‘अब असार मसान्त सम्म यहाँका ८ वटै वडाका वडामुकामहरुमा बत्ती पु¥याउने लक्ष्य छ ।’ केहि वर्ष भित्र नौमुलेका सवै नागरिकको घरसम्म गाउँपालिकाले बत्ती बाल्ने योजना रहेको अध्यक्ष वुढाको भनाइ छ ।
आर्थिक हिसाबले पछि परेको नौमुले क्षेत्र अहिले राज्य पुर्नसंरचना सँगै आर्थिक हिसाबले जिल्लाका अन्य स्थानीय तह भन्दा सबल हुने क्रममा छ । जडिबुटीका हिसाबले धनी मानिने नौमुलेमा जडिबुटी संकलन तथा प्रशोधन गर्न सकेमा नौमुले गाउँपालिका आर्थिक समृद्धि उन्नुख हुने वताउँछन् नौमुले गाउँपालिकाका वुद्धिजीवि शशिराम विश्वकर्मा ।
पछिल्लो समय नौमुलेमा २ वटा हाइड्रो आयोजनाले निर्माण कार्य पूरा गरी विद्युत उत्पादन गरेका छन् भने द्वारीको रापटमा अर्को एउटा आयोजनाको काम तिव्र गतिमा भएको छ । सदरमुकामदेखि १६ किमि उत्तरपूर्वमा पर्ने नौमुलेमा भइरहेको जलविद्युत आयोजनाको कामले चहलपहलसँगै रोजगारीका लागि विदेशिनु पर्ने बाध्यताको समेत कम भएको स्थानीयको भनाइ रहेको छ । द्वारीमा केही वर्ष अगाडि ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोको आयोजना सम्पन्न भई विद्युत् उत्पादन भइरहको छ । नौमुलेमा ४.२ मेगावाट क्षमताको लोहोरे हाइड्रोको काम गत वर्ष शुरु भएपनि प्राविधिक कारणले हाल रोकिएको छ भने नौमुले ६ मा ४.५ मेगावाटको पदमखोला गत वर्षदेखि उत्पादन शुरु भएको छ । बालुवाटार, तोली, कालिका, नौमुले, सल्लेरी र द्वारी गाविसका डाँडाकाँडासम्म सडक पुगेपछि त्यहाँका स्थानीयले गाउँमै रोजगारीको अनुभूति गरेको बताउँछन् स्थानीय डिलबहादुर घर्ती ।
विकासे योजनाहरुले घरजग्गा कारोबार, होटल, बजार–व्यवसाय बढेको उनले वताए । साविकको इलाका नं ३ का ७ गाविसको मुकाम हो भने अहिले उक्त मुकाम नौमुले गाउँपालिका व्यापार व्यवसाय गर्नेको पनि कमि छैन । यहाँको अभाव र गरिबी अन्त्य गर्न गाउँपालिकाले विभिन्न रोजगारमूलक गतिविधिहरु अगाडि वढाएको बताउँछिन् गाउँपालिकाकी उपाध्यक्ष अमृता सिंह । पूर्वाधार निर्माणका साथै कृषि तथा पशुपालन, स्वास्थ्य, खानेपानी, जनचेतना लगायतका क्षेत्रमा गाउँपालिकाले विषेश जोड दिएको उपाध्यक्ष सिंहको भनाइ छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले नौमुले गाउँपालिका भित्र प्रशस्त सम्भावना र पर्यटकिय स्थलहरु रहेकाले यसको सम्वद्र्धन र संरक्षणमा गाउँपालिकाले विशेष जोड दिएको वताए । नौमुले गाउँपालिकाका ८ वटै वडाहरुमा सडकको पहुँच पुगेसँगै स्थानीय स्तरमा नागरिकलाई सहज भएको प्रमुख प्रशासकीय अधिकृत कोइराला बताउँछन् ।
दिनहुँ दैनिक उपभोग्य सामान र यात्रुवाहक सवारी साधनहरुको चहलपहलले नौमुलेमा विकासले फड्को मारेको अनुभूति भएको स्थानीय दिपेन्द्र पुन बताउँछन् ।
नौमुले गाउँपालिकाको बालुवाटा, द्वारी, कालिका, भवानी र सल्लेरीका उच्च भेग आसपासमा प्रशस्त मात्रमा अल्लो पाइने भएकाले त्यस भेगका नागरिकहरुको जीवन यापनमा सहज भएको पाइन्छ । अल्लोलाई प्रशोधन गरी विभिन्न किसिमका कोट लगाएत सामग्री हरु निर्माण गरी बिक्री गर्ने हुँदा सामान्यतया घर खर्चको जोहो हुने गरेको छ । त्यस भेगका स्थानीय यो सिजनमा फुर्सद मिलाएर अल्लो प्रशोधन गरी बिक्री गर्ने काममा व्यस्त हुने गर्दछन् । अल्लोको धागो प्रतिकेजी ६–७ सयमा घरबाटै बिक्री हुने गर्छ ।