पेट्रोलियम पदार्थ अन्वेषण गर्न एक वर्षपछि चिनियाँ टोली दैलेख आउँदै
मातृभूमी संवाददाता । ०२ चैत्र दैलेख
दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्तिम चरणको अन्वेषण गर्न चिनियाँ टोली दैलेख आउने भएको छ । यस अघि नै विभिन्न चरणमा पेट्रोलिय पदार्थ अन्वेषणको काम गरिसकेको चिनियाँ टोलीले अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न यहि चैत्र १९ गते विज्ञ सहितको चिनियाँ टोली नेपाल आउन लागेको हो । यो टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायीक उत्खनन् सम्भावनाको टुंगो लाग्ने जनाईउको छ ।
यो चरणमा ड्रिलिङ लगायतको कामपछि यस क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण कति छ भन्ने पत्ता लाग्नेछ । अन्वेषणको प्रतिवेदनले पेट्रोलियम खानी सञ्चालन गर्न सम्भव देखाएमा त्यसको प्राविधिक पक्षको व्याख्या गरिने खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले वताए ।
एक वर्ष पछि चिनियाँ टोली आउँदै
पहिलो चरणमा साइस्मिक सर्वेक्षण लगाएतका काम सकेर फर्किएको चिनियाँ टोली एक वर्षपछि नेपाल आउन लागेको हो । २०७६ फागुन साइस्मिक सर्भे लगाएतका काम सकेर चिनियाँ प्राविधिक टोली स्वदेश फर्किएको थियो । पहिलो चरणको सर्वेक्षणमा अन्वेषण भएको क्षेत्रमा पेट्रोलियम खानी हुन सक्ने सम्भावना देखिएपछि ‘ड्रिलिङ’सहितको काम गर्न चिनियाँ टोली नेपाल आउन लागेको अन्वेषण अधिकृत डा. त्रिपाठीले बताए । विज्ञ सहित २३ जनाको टोली नेपाल आउँदैछ । उनले भने, ‘अहिले भिसा प्रक्रिया लगायतको काम भैरहेको छ ।’
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार अन्वेषण स्थलमा ड्रिलिङका लागि ३५ मिटरसम्म लामो फलामे पाइप लैजानुपर्ने छ । तर, सडक साँघुरो र घुम्तीहरु सानो भएकाले अन्वेषणको काम चुनौतीपूर्ण छ । मुख्यगरी भेरी पुलमा समस्या पर्ने देखिएको छ । उनले भने, ‘घुम्तिहरु फराकिलो बनाउनुपर्ने हुन्छ । धेरै ठाउँमा सडकहरु पनि फराकिलो बनाउनुपर्ने हुन सक्छ ।’ यसअघि दैलेखको नाभिस्थान, श्रीस्थान, पादुका लगायतका क्षेत्रलाई आधार मानेर ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेट्ने गरी साइस्मिक सर्वेक्षण गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढ्न लागेको हो । जमिनमुनी चार किलोमिटरसम्म ड्रिलिङ्ग गरेर अन्तिम चरणको सर्वेक्षणको काम गरिनेछ । दैलेखको भैरवी गाउँपालिका, भगवतीमाई, महावु र डुङ्गेश्वर गाउँपालिका तथा नारायण, दुल्लु र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम हुनेछ ।
२०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरिएको थियो । उक्त सहमति अनुसार २०७६ फागुनमा खानी तथा भूर्गभ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता समेत भएको थियो ।
२८ महिना भित्र ड्रिलिङ सक्ने योजना
चीन सरकार र नेपाल सरकारवीच भएको समझदारीलाई कार्यान्वयन गर्न दुवै देशले संयुक्त रुपमा कार्ययोजना बनाएका छन् । पहिलो चरण (१० महिना) मा चीनको विज्ञ टोलीले दैलेख क्षेत्रमा भौगर्भिक तथा पेट्रेलियम सर्भेसहित दैलेखमा ड्रिलिङ साइट पहिचानको काम गर्ने समझदारी भएको थियो । योजना अनुसार दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थाबारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने भनिएको थियो ।
एक वर्षदेखी काम ठप्प
चीनको वुहान शहरमा सन् २०१९ को डिसेमवरमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण परियोजनाको काम एक वर्षदेखि रोकिएको थियो ।
२०७६ कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रीका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषण कार्यको उद्घाटन गरेका थिए । अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने छ । दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु हुने विभागले जनाएको छ ।