नौ दिनपछि रजनीको शव कर्णालीको तिरमा भेटियो

मातृभूमी संवाददाता । ०३ चैत्र दैलेख
आठविस नगरपालिकाकी रजनी वडुवालको मंगलवार दिउँसो कर्णालीको तिरमा शव फेला परको छ । गएको फागुन २३ गते आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनीको शव मंगलवार दिउँसो भेटिएको हो । उनको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका ३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रेष्ठका अनुसार बालिकाको शव मंगलबार दिउँसो कर्णाली नदीको किनारमा भेटिएको हो । कर्णाली नदीको किनारमा भेटिएको बालिकाका शव रजनी बडुवालकै रहेको पुष्टि भइसकेको र पोष्टमार्टमका लागी अछामको मंगलसेनस्थित जिल्ला अस्पतालमा लगिएको डिएसपी श्रेष्ठले वताए । नदी किनारमा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
दैलेखको आठबीस ३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल चार सन्तानसँगै कर्णाली नदीमा हाम फालेको भोलीपल्ट फागुन २४ गते सुकीका छोरीहरू १४ वर्षीया कल्पना र १२ वर्षीया सरिताको शव नदीमा फेला परेको थियो । त्यसैगरी फागुन २५ गते सुकी र उनका छोरा १० वर्षीया ललितको शव पनि कर्णाली नदीमै भेटिएको थियो । कल्पना र सरिताको हात एउटै डोरीले बाँधिएको र सुकीको पटुकी र छोरा ललितको टिसर्ट गाँठो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
पति मानसिंह बडुवालले मदिरा सेवन गरी दुःख दिएका कारण सुकी चार सन्तान सहित नदीमा हाम फाल्न बाध्य भएको प्रहरी अनुसन्धानले देखाएको छ । आफ्नो मृत्युपछि सन्तानलाई पतिले झन् दुःख दिने भएका कारण सुकीले यस्तो गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बताएका छन् । प्रहरीले उक्त घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!