भारतमा काेराेनाकाे नयाँ लहर शुरू भएसँगै भारतसँगका १४ नाकामा कडाइ

मातृभूमी संवाददाता । ०८ चैत्र दैलेख

भारतमा कोरोना भाइरस नयाँ लहर शुरू भएपछि नेपाल सरकारले भारतसँग सीमा जाेडिएका नाकामा निगरानी वढाएकाे छ । भारतका विभन्न राज्यमा काेराेनाकाे जोखिम बढेपछि सरकारले भारतसँग सीमा जोडिएका नाकामा निगरानी बढाएको हाे । त्यहाँ हेल्थ डेस्कको सङ्ख्या बढाउँदै आवश्यक कर्मचारी पनि खटाइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सीमा क्षेत्रको मुख्य नाकामा निगरानीलाई बढाइएको उनले बताए । भारतको महाराष्ट्र, गुजरात लगायतका राज्यमा कोरोनाको सङ्क्रमण दर फेरि तीव्र गतिमा फैलिएकाले त्यहाँ कार्यरत केही नेपाली स्वदेश फर्किन थालेका छन् । यसले सङ्क्रमण नेपालमा पनि भित्रिन  सक्ने जोखिम बढेकाले घर फर्किनेहरूको नाकामा नै परीक्षण गर्ने तयारी गरिएको हो ।

मुख्यगरी भारतसँगका १४ नाकामा निगरानी बढाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले जानकारी दिए । पश्चिम नेपालका गड्डाचौकी, गौरीफन्टा, बेलहिया, कृष्णनगर, जमुना नाका लगायतमा कडा निगरानी सहित एन्टिजेन परीक्षण नै गर्ने तयारी भएको महाशाखाका निर्देशक डा. पाैडेलले जानकारी दिए । सीमानाकालाई थप व्यवस्थित बनाउन आइतवार स्थानीय सरकार सहित सम्बन्धित निकायलाई पत्राचार गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलकाे भनाइ छ ।

यस्तै, कोरोना भाइरसको नियन्त्रणका लागि भारतबाट फर्किएका नेपालीलाई १४ दिन घरभित्रै क्वरेण्टीनमा बस्न आग्रह गरिएको छ । यसबीचमा ठूला–ठूला सभा आयोजना भएकाले अब यस्ता सभा सम्मेलन रोक्ने तयारी पनि गरिएको छ । कोरोनाको जोखिम फेरि बढेकाले भीडभाड कम गर्न, अनिवार्य मास्क लगाउन, बेला–बेलामा साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न विज्ञले सुझाव दिएका छन् ।कोरोना सङ्क्रमण फैलिएसँगै भारतका केही ठाउँमा फेरी लकडाउन  घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *