आफ्नै छोराको हत्या गरेर आमाद्वारा आत्महत्याको प्रयास

PHOTO : GOOGLE

मातृभूमी संवाददाता । १२ चैत्र दैलेख

दैलेखकाे डुङ्गेश्वर गाउँपालिका ३ की एक महिलाले आफ्नै नाबालक छोराकाे हत्या गरी आत्महत्याकाे प्रयास गरेकी छन् । डुङ्गेश्वर ३ रेक्चाकी २८ बर्षीया हिरा थापामगरले नाबालक छोरा ३ बर्षीया उमेश थापामगरलाई झुण्ड्याएर हत्या आत्महत्याकाे प्रयास गरेकी हुन् । हिराले बिहीवार विहान ६ बजे छोरा उमेशलाई आफ्नै घरमा झुण्ड्याएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

उनले छोरा उमेशलाई कुर्ताले झुण्ड्याएर हत्या गरेको पुष्टि भएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । ‘ती महिलाले कक्षामा ४ मा अध्ययनरत ९ बर्षीया छोरीकाे समेत हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरिक्षक सुनारले भने ‘ती बालिका भने आमाको हातबाट फुत्किई भागेर बाँच्न सफल भएको पुष्टि भएको छ ।’
प्रहरी निरिक्षक सुनारका अनुसार छोराको हत्या गरेर हिराले आत्महत्याको प्रयास समेत गरेकी छिन् । छोराको हत्या गरेर घरभन्दा एक किलोमिटर टाढा उत्तर तर्फको रेक्चा खोलाको भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी हुन् ।  भीरबाट हाम फालेर आत्महत्याको प्रयास गर्दा उनी सख्त घाइते भएकी छन् । स्थानीयले ती महिलाले भीरबाट हाम फालेर सख्त घाइते भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घाइते महिलाको प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ । बालकको शव पनि पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल दैलेखको शवगृहमा राखिएको छ । ती महिला मानसिक रोगी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुनारले बताए । नाबालक छोराको हत्या गरेर आत्महत्याको प्रयास गर्ने हिरा थापामगरका श्रीमान थीरबहादुर थापामगर मजदुरीका लागि भारतमा रहेको स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!