भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’
मातृभूमी संवाददाता । १२ चैत्र दैलेख
बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए ‘म्याच’ भएको छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्त १६ वर्षीय दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अदालतको आदेशपछि दिनेशलाई पुर्पक्षका लागि बाल सुधार गृह डोटीमा राखिएको छ ।
यसअघि दिनेशले सुधारगृहमै रहेका बेला आफ्ना बुवालाई आफूले बलात्कार र हत्या नगरेको भनेर बताएका थिए । उनले गाउँपालिकाकै एक कर्मचारीको नाम समेत किटान गरी आफूलाई धम्क्याएर अपराध स्वीकार्न लगाएको बताएका थिए ।तर, भागरथीको भजाइनल स्वाबसँग दिनेशको डीएनए मिलेपछि दिनेश नै घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । दिनेशले पुर्पक्षका लागि सुधार गृह नपठाउँदासम्म आफूले नै बलात्कार हत्या गरेको बयान दिएका थिए । यसअघि भागरथीको शव जिल्ला अस्पतालमा परीक्षण गर्दा बलात्कारपछि हत्या भएको देखिएको थियो ।
गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपनि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र रुपमा शव फेला परेको थियो । प्रहरीले फागुन ५ गते दिनेशलाई सार्वजनिक गरेको थियो । दिनेशलाई २० दिन हिरासतमा राखेर अनुसनधानपछि अदालतमा बुझाएको थियो । जिल्ला अदालत बैतडीले फागुन २५ गते दिनेशलाई पुर्पक्षका लागि सुधार गृह पठाउन आदेश दिएको थियो ।
सनातन धर्म माविमा कक्षा ११ पढ्ने दिनेश र सोही विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी एकै गाउँका हुन् । नाताले यी दुवैजना दिदीभाइ पर्छन् ।