धमाधम स्वदेश फर्कदै भारत पसेका कर्णालीका वेरोजगार युवा

मातृभूमी संवाददाता । १७ चैत्र दैलेख
दैलेखको ठाँटीकाध गाउँपालिकाका रमित विक गएको मंसिरमा भारत गए । कोरोना संक्रमणको त्रास कम हुँदै गएपछि उनी कमाईका लागि फेरि भारत गएका थिए । रोजगारीका लागि भारत जाने आउने गरिरहने उनी त्यसअघि कोरोना त्रासकै कारण भारतबाट घर फर्किएका हुन् । गतवर्ष यही समयमा कोरोना संक्रमणको निकै त्रास थियो । सीमा नाकाहरूमा आउ-जाउमा कडाइ मात्र भएन सबै क्षेत्रमा बन्दाबन्दी नै भयो । कमाइका लागि विदेशीएका हजारौं नेपालीले थुप्रै कष्ट बेहोर्नुपर्‍यो । सबैतिर लकडाउन भएसँगै रोजगारी गुमेपछि रमित भारतबाट अरु नेपाली झंै कष्टकर यात्रा गर्दै गएको जेठमा घर फर्किएका थिए ।
पोहोर साल नेपाल छिरेपछि उनी १४ दिन सीमा नाकामा बनाइएका क्वारेन्टाइनमा बसे । ‘घर आउन त्यसबेला भोगेको सास्ती भनिसाध्य छैन,’ रमित भन्छन् । कोरोना कहर विस्तारै कम भएपछि उनी फेरी यहि मंसिरमा भारत गए । तर, भारतमा यसपटक पनि कोरोना संक्रमणको जोखिम बढ्दै गयो । रमित गत वर्षझैं कोरोना त्रासका कारण शुक्रवार घर फर्किएका छन् । उनी सहित गाउँका १४ जना भारतबाट घर आएका हुन् ।
भारतकै कमाइले परिवारको गुजरा चलाउँदै आएका रमित गतवर्ष जसरी दुःख नहोस् भनेर यसपटक बेलैमा घर फर्किएको बताउँछन् । ‘पहिले पनि भर्खरै भारत गएको बेलामा कोरोनाका कारण लकडाउन भयो । कमाइ राम्रो नहुँदै फर्किनु पर्‍यो,’ उनले भने, ‘गाउँमा रोजगारी केही नपाएपछि फेरि भारत गएका थियौं । कोरोना संक्रमणको डरले फर्कियौं ।’ पहिले भारतबाट यसरी नै आउँदा सरकारले रोजगार दिने भने पनि आश्वासन मात्रै पाएको उनले गुनासो गरे । ‘खेतीले वर्ष दिन पनि खान पुग्दैन् । भारत नगई हामीलाई सुखै छैन । सरकार छ भन्नु मात्रै भयो । आफ्नै ठाउँमा रोजगारीका अवसर कहिल्यै पाइएन,’ रमितले भने ।
पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । केही सहरमा लकडाउन नै भइसकेको छ । लकडाउन हुने डरले कमाईका लागि भारत गएकाहरू यतिबेला धमाधम स्वदेश फर्किन थालेका छन् । केही दिनयता सीमा नाकामा भारतबाट फर्किनेको भिड छ । कोरोनाले अघिल्लो वर्ष दिएको दुःख यसपटक फेरि उसैगरी फर्किएको छ । कोरोनाका कारण यो वर्ष पनि उही नियति दोहोरिएको हो ।
कालीकोटको रास्कोट नगरपालिकाका नवराज शाही कोरोनाको जोखिम बढ्दै गएपछि भारत गएको दुई साता नहुँदै घर फर्किएका छन् । शाहीले आफूसहित तीन जना साथीहरू घर आएको बताए । ‘आफ्नै ठाउँमा रोजगारी भइदिए प्रत्येक वर्ष यसरी दुःख भोग्नु पर्थेन,’ उनले भने ।
गत वर्ष कोरोना महामारीका समयमा कणर्ाली प्रदेशका मात्र करिब ६० हजार नागरिक भारतबाट फर्किएका थिए । केही समयपछि तीमध्ये अधिकांश पुनः भारत गएका थिए । प्रदेश सरकारले यसरी फर्किएका नागरिकलाई गाउँमै रोजगारी दिने बताएको थियो । चालु आर्थिक वर्षको बजेट र नीतिमा रोजगार मूलक कार्यक्रमलाई प्राथमिकता समेत दिइएको थियो । तर, सरकारले त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न नसक्दा नागरिकहरू पुनः भारतमै फर्किका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *