नेपालमा एकै दिन १ हजार ९६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

मातृभूमी संवाददाता । ०५ बैशाख दैलेख

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्षणबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १ हजार ९६ जना संक्रमित बनेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ । सोही अवधिमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २ सय ९० छन् भने क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको ख्याल राख्दै शिक्षा प्राप्तिको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
विद्यालय सञ्चालन गर्ने, गराउने विषयमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूणर् सूचना सम्प्रेषण नगर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अभिभावक र विद्यार्थीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नुहुँदैन, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचना बमोजिम गर्न र स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिइ व्यवहार गर्न, गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ ।’
आयोगले हालै काठमाडौँ उपत्यकास्थित विभिन्न विद्यालयमा स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना तथा बालबालिकामा कोरोना संक्रमणको जोखिमको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरेको छ । अनुगमनबाट निजी विद्यालयका तुलनामा सरकारी विद्यालयमा स्वास्थ्य सम्बन्धी मापदण्डको पालना नभएको, विद्यार्थी संख्या धेरै भएका कारण मापदण्डको पालना गर्न सम्भव नभएको भन्ने शिक्षकको भनाइ रहेको तथा टाउको दुखेका बिरामीसमेत अन्य विद्यार्थीसँगै कक्षा कोठामै राखिएको पाइएको छ ।
गत दुई हप्तामा तीन सयभन्दा बढी बालबालिका कोभिड-१९ बाट संक्रमित भएको जानकारी विभिन्न माध्यमबाट आयोगलाई प्राप्त भएको छ । स्वास्थ्य मन्त्रालयले उच्च जोखिममा रहेका काठमाडौँ उपत्यका सहितका १४ जिल्लामा शिक्षण संस्था लगायत बढी भीडभाड हुने क्षेत्र तथा सेवा तत्कालका लागि बन्द गर्न सुझाव दिएका अवस्थामा शिक्षण संस्था हाल सञ्चालनमै रहेको एवं स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा बालबालिकाको स्वास्थ्यको अधिकार जोखिममा परेको देखिएको आयोगले जनाएको छ ।
नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हकको व्यवस्था गर्नाका साथै नेपाल पक्ष राष्ट्र बनेको बालअधिकार सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धि, १९८९ को धारा २४ ले बालबालिकाको उच्चतम स्वास्थ्यको हितलाई ध्यान दिनुपर्ने उल्लेख गरेको आयोगले स्मरण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *