सुर्खेत सहित १४ जिल्लाका सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय
मातृभूमी संवाददाता । ०६ बैशाख दैलेख
नेपाल सरकारले कोरोनाबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । अति प्रभावित जिल्लाहरुमा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ छन् । साेमवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
यस्तै, मापदण्ड अपनाएर मात्र सार्वजनिक यातायात सञ्चालन गर्नुपर्नेछ । यसैगरी, रात्रिकालीन व्यवसाय, सिनेमाघर, पार्टी प्यालेस, जीमखाना, रङ्गशाला लगायत पनि वैशाखभर बन्द राख्ने निर्णय गरिएको छ । बैठकले संसद्को चालू हिउँदे अधिवेशन साेमवार दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो । निर्णय बारेको सूचना राजपत्रमा साेमवार नै प्रकाशित गरिने मन्त्री श्रेष्ठले बताए ।