एमाले वरिष्ट नेता नेपाल र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीवीच भेटवार्ता, सवै कुरा गाेप्य

मातृभूमी राजनितिक व्युराे । ०९ वैशाख काठमाण्डाै

सर्वोच्च अदालतले एमाले र माओवादी भिन्न-भिन्नै बनाइ दिएपछि नेकपा एमालेका वरिष्ट नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीवीच दोस्रो पटक प्रत्यक्ष भेटवार्ता भएकाे छ ।

२३ फागुनको सर्वोच्चको फैसला अनुसार पुर्नःस्थापित नेकपा एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । त्यसयता नेपाल–ओली सम्भवतः भेट भएको थिएन । २ चैत्रको छलफलमा नेपाल समूहले २८ फागुनमा आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर गरेको निर्णय खारेज गर्न गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए।

वुधवार अकस्मात् प्रधानमन्त्री ओलीले माधव नेपालसँग भेटवार्ता गरेका हुन् । नक्सालस्थित होटल मेरियटमा भएको भेटवार्तामा करिब दुई घण्टा छलफल भएकाे थियाे । भेटवार्तामा एमाले महासचिव तथा अर्थमन्त्री विष्णु पाैडेल पनि सहभागी भएका थिए । पूर्वसूचना नदिई हठात् भएको भेटवार्ताबारे सञ्चार माध्यमलाई दुवै नेताले प्रतिक्रिया दिन मानेनन् ।

नेपाल समूहका नेता योगेश भट्टराईले वुधवार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओली समक्ष पार्टी एकता जोगाउन भन्दै ‘बिन्ती चढाएका’ थिए । उनले ओलीलाई पार्टी अध्यक्ष भएको नाताले विगतका तीतामीठा बिर्सिन र अब पार्टी एक ढिक्का बनाउन ओलीलाई आग्रह गरेका थिए । उनले शीर्ष नेताहरुबाटै संवाद बढाउन आफ्ना समूहका नेता नेपाल र वरिष्ठ नेता झलनाथ खनाल लगायतसँग कुरा गर्न भनेका थिए ।

भट्टराईकै आग्रह वा ओलीको पार्टी एकढिक्का बनाउने ‘एक्कासिको सोच’ले वुधवार यो भेटघाट सम्भव भयो । मंगलबार अध्यक्ष ओलीले केन्द्रका २७ सहित ३२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका थिए । उक्त पत्रमा तपाईंहरूलाई के कति कारणले कारबाही नगर्ने ? भन्ने प्रश्न सहितको पत्र थियो ।

वुधवार सर्वोच्च अदालतमा माधव समूहले ओलीले गर्ने कारबाही रोक्न भन्दै रिट बुझाएका थिए । तर रिट दर्ता भने भएन । नेपाल समूहले ओलीले गरेका एकलौटी निर्णय खारेजीको माग गर्दै पार्टी माओवादी केन्द्रसँग एकता हुनुपूर्वकै अवस्थाबाट अघि बढ्नुपर्ने बताएको थियो ।

वुधवारको मेरियट भेटवार्ताकाे चाँजो मिलाएका अर्थमन्त्री पौडेल र आर्थिक सल्लाहकार मोती दुगडले समेत यसबारे केही खुलाएनन् । दुई शीर्ष नेताको भेटघाट सकिन लाग्दा होटल परिसर पुगेका दुगडले आफू अचानक आएको सञ्चार माध्यमसँग प्रतिक्रिया दिए । उनले यत्ति भने, दुवै नेता प्रफुल्ल मुद्रामा हुनुहुन्थ्यो मैले राम्रै संकेत देखेको छु ।

बैठकपछि भएका कुनै पनि प्रकारका निर्णय सार्वजनिक नगरिए पनि यो बैठकले नेपाली राजनीतिमा थप नयाँ तरंग ल्याएको प्रस्टै छ । भेट पूर्वयोजना अनुसार थियो वा अकस्मातकाे हो भनी पत्रकारले एमाले नेता सुरेन्द्र पाण्डेलाई सोधेकाे प्रश्नमा उनले यसबारे आफूलाई कुनै प्रकारको जानकारी नभएको बरु आफूले पनि यसबारे बुझ्न खोजेको प्रतिक्रिया दिए । उनले भने, ‘दुई जना मान्छे बाटोमा अकस्मात् भेट भयो भने उनीहरूले के कुरा गरे त्यसलाई के भन्ने, मलाई यसबारे केही जानकारी छैन । म त्यहाँ थिइनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *