भारतमा भेटिएको कोरोना भेरियन्ट निकै खतरनाक

मातृभूमी संवाददाता । ०९ वैशाख काठमाण्डाै

नेपालको दक्षिणी छिमेकी देश भारत यतिखेर कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको छ । त्यहाँ भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन् । भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले त्यहाँको स्थिति निकै भयावह बनाइरहेको छ । दैनिक ३ लाख संक्रमित थपिइरहेका छन् भने २४ घण्टाभित्र ३ हजार हाराहारीमा संक्रमितको ज्यान गइरहेको छ ।

कोरोना महामारीले विकराल रुप लिएपछि अमेरिका लगायतका मुलुकले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न ट्राभल एड्भाइजरी नै जारी गरेका छन् । भारतमा फैलिएको महामारीलाई गम्भीरता पूर्वक नियालिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । यतिखेर विश्वभरका वैज्ञानिकहरू कोरोना महामारी अनुसन्धान गर्न भारत केन्द्रित भएका छन् । त्यहाँ फैलिएका कोरोनाका भेरियन्ट विश्वभर फैलिएको छ/छैन भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ ।

डबल म्यूटेन्ट भेरियन्ट (दोस्रो पटक उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको भाइरस) का कारण संक्रमण बढेको एकीन गर्न भारतीय वैज्ञानिकहरू निरन्तर खोजमा लागेका छन् । सो डबल म्यूटेन्ट भेरियन्टलाई बी.१.६७ नामाकरण गरिएको छ। पछिल्लो समय संक्रमित भएका अधिकांशमा यो भेरियन्टको कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म भारतमा यो भेरियन्टको कोरोना नियन्त्रण गर्न पर्याप्त जिनोम सिक्वेन्सका लागि नमूना एकत्रित गर्न सकिएको छैन । तर, महाराष्ट्रमा एकत्रित गरिएको नमूना मध्ये ६१ प्रतिशतमा यो भेरियन्टको भाइरस संक्रमण भएको थाहा लागेको छ । हवाई यात्रा जारी रहेका कारण भारतको भेरियन्ट बेलायतसम्म पुगेको छ । यो साताको शुरुमा बेलायतका स्वास्थ्यमन्त्री म्याट हेनककले १ सय ३ जना संक्रमितमा भारतीय भेरियन्ट फेला परेको जानकारी दिइसकेका छन् ।

यस्तो पाइएपछि बेलायतले भारतलाई यात्रा प्रतिबन्ध सूचीमा राखिसकेको छ । जीआइएसएआइडीको डेटाबेस हेर्दा सो भारतीय भेरियन्ट कम्तिमा १७ देश र अमेरिकाका १५ राज्यमा समेत फैलिसकेको छ । वैज्ञानिकहरूले भारतमा इ४८४क्यू र एल४५२आर एकसाथ नयाँ भेरियन्टमा बदलिएको जानकारी दिएका छन् । यो भाइरस निकै संक्रामक रहेको र हालसम्म बनेका भ्याक्सिनले पनि निस्तेज पार्न नसक्ने खालको रहेको बताइएको छ ।

भाइरसको उत्परिवर्तनबारे पत्ता लगाउन वैज्ञानिकहरूले जीनोम सिक्वेन्स अध्ययन गर्छन् । यसका लागि संक्रमितको स्वाब लिइन्छ । भाइरसको जेनेटिक कोड विन्यास गरेर म्यूटेशन निगरानी गरिन्छ । म्यूटेशनका अधिकांश हिस्साले धेरै महत्व राख्दैनन् । तर इ४८४क्यू जस्तो म्यूटेशनले भाइरसलाई खतरनाक बनाइदिन्छ ।

लुसियाना स्टेट विश्वविद्यालयको हेल्थ साइन्स सेन्टर का डा. जर्मी कामिलले इ४८४क्यू निकै हदसम्म इ४८४के सँग एकरुप रहेको बताएका छन् । इ४८४के को म्यूटेशन दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका भेरियन्ट रहेको र धेरैपटक फैलिएको उनको भनाइ छ । उनका अनुसार शरीरको रोग प्रतिरोधात्मक क्षमता एन्टी बडी नष्ट गर्न यो भाइरस निकै सक्षम पाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले यो डबल म्यूटेन्ट भेरियन्टले प्रतिरोधी क्षमता कमजोर बनाइदिने र संक्रमण ह्वात्तै बढाइदिने गरेको जानकारी गराएको छ । भारतीय भेरियन्टको नमूना अहिलेसम्म पर्याप्त जम्मा भइनसकेको वैज्ञानिकहरूले बताएका छन् । यो भेरियन्टको पहिलो मामिला गत अक्टोबरमा फेला पारिएको थियो ।

अहिलेसम्म विश्वभर भएको अनुसन्धानअनुसार भारतीय भेरियन्टको कोरोनाका ६५६ जीनोम सिक्वेन्स साझेदारी भइसकेको छ । भारतमा अहिलेसम्म ८ हजार १७० जिनोम सिक्वेन्स सेयर गरिएको छ । डा. कामिलले भनेका छन्, ‘अहिलेसम्म भारतीय वैज्ञानिकहरूले जीनोम शेयरिङको दिशामा राम्रो काम गरेका छैनन्, यदी समयमै यो शेयर हुन्थ्यो भने भारत र विश्वभरका वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुने थियो ।’

यसबाट जोगिन गरिबीको चपेटामा रहेको नागरिकलाई सशक्त बनाउन र समाजमा भरोसा उत्पन्न गराउन आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ । उनीहरू बिरामी पर्नासाथ नमूना दिन तयार बनाउनुपर्ने पनि उनीहरूले बताएका छन् । क्याम्ब्रिज विश्वविद्यालयको क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवि गुप्ताले प्रयोगशालामा भारतीय भेरियन्टको कोरोना भाइरसबारे जानकारी हासिल गर्ने कोशिश भइरहेको बताएका छन् । गुप्ता बेलायती सरकारलाई कोरोना भाइरसको नयाँ भेरियन्टबारे सल्लाह दिइरहेका वैज्ञानिक हुन् ।

उनले भनेका छन्, ‘भारतीय भेरियन्ट यसकारण चिन्ताको विषय हो कि यसमा दुई खतरनाक म्यूटेशन रहेको छ । यी दुवै म्यूटेशन विश्वको अलग–अलग क्षेत्रमा पाइएको छ । यसले आम मानिसको प्रतिरोधी क्षमतामा विपरीत प्रभाव पारिरहेको छ ।’

भारतमा भाइरसको अनियन्त्रित प्रसारका कारण यो स्थिति निम्तिएको गुप्ताले बताएका छन् । त्यहाँको व्यापक जनघनत्व भाइरस म्यूटेशन हुन अनुकूल रहेको र १५ अप्रिलयता भारतमा प्रतिदिन दुई लाखभन्दा धेरै संक्रमित थपिइरहेकाले अवस्था चिन्ताजनक भइसकेको उनले विश्लेषण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *