दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्को काममा ढिलाई
मातृभूमी संवाददाता । ०९ फागुन दैलेख
चिनियाँ विशेषज्ञ टोली आउन ढिलाइ हुँदा दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन्को काममा ढिलाइ भएको छ । कोरोनाका कारण चीन सरकारले अनुमति नदिँदा प्राविधिक टोली समयमै आउन नपाएको हो । टोलीले यसअघि पेट्रोलियम पदार्थ उत्खनन्का लागि साईस्मिक सर्भेको काम सकेको थियो । २०७६ चैत १९ मा फर्किने गरी टोली फागुनमा स्वदेश फर्केको थियो तर चिनमा सन् २०१९ को डिसेम्वरमा कोरोना महामारी सुरु भएपछि टोली उतै रोकिएको हो ।
चिनियाँ टोली १३ महिनासम्म नफर्कदा अन्वेषणको काममा ढिलाइ भएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले वताए । ‘चिनियाँ टोलीको प्रतिवेदनका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुनेछ,’ उनले भने, ‘त्यसका लागि हामी तयारी अवस्थामा छौं ।’
२०७६ असोजदेखि विभाग र चिनियाँ विज्ञ टोलीले पेट्रोलियम पदार्थ उत्खनन्को काम थालेको थियो । यसअघि चिनियाँ विज्ञ टोलीले चार स्थानमा सर्भेको काम सकेको अन्वेषण अधिकृत डा. त्रिपाठीले वताए । ‘श्रीस्थान, पादुका, कोटिला र कणर्ाली राजमार्ग आसपासको क्षेत्रमा सर्भे भइसकेको छ, यो झन्डै २० हजार वर्गमिटर क्षेत्रफल हो,’ उनले भने । विभागका अनुसार पेट्रोलियम पदार्थको उत्खनन्का लागि साईस्मिक सर्भेको प्रतिवेदनका आधारमा ४ हजार मिटर जमिनमुनिबाट ड्रिलिङ गरिनेछ ।
उक्त काम सकिन झन्डै ५ महिना लाग्ने अन्वेषण अधिकृत डा. त्रिपाठीले वताउछन् । ‘चिनियाँ टोलीले तत्काल अनुमति पाएर फर्किए पनि ड्रिलिङको काम अक्टोबरबाट मात्रै सुरु हुनेछ,’ उनले भने, ‘टोली आएपछि सुरुमा स्थलगत अध्ययनको काम गर्छौं ।’ पेट्रोलियम पदार्थ उत्खनन्का लागि चिनियाँ टोलीसँग २०१९ फेव्रुअरीमा विभागले सम्झौता गरेको थियो । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजनाले अहिलेसम्म एक लाइन सर्भेको काम मात्र सकेको छ । सम्झौता अनुसारको काम नभएपछि विभागले अन्वेषणको मिति पटक-पटक सार्दै आएको छ ।
यस अघि नै विभिन्न चरणमा पेट्रोलिय पदार्थ अन्वेषणको काम गरिसकेको चिनियाँ टोलीले अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न गएको चैत्र १९ गते विज्ञ सहितको चिनियाँ टोली नेपाल आउने भनिएपनि अहिलेसम्म नआउँदा अन्वेषणको काम हुन सकेको छैन । अब आउने टोलीले गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायीक उत्खनन् सम्भावनाको टुंगो लाग्ने जनाईएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले ड्रिलिङका लागि चाहिने ठूला उपकरण ल्याउन सडक बाधक भएको बताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले सर्भेको नतिजाका आधारमा ड्रिलिङको काम सुरु गर्ने भनिए पनि दैलेख-सुर्खेत सडकखण्ड साँघुरो हुँदा उपकरण ल्याउन समस्या हुने बताए । ‘ड्रिलिङ मेसिनका लागि सडकको विकल्प खोज्नुपर्ने देखिएको छ,’ उनले भने, ‘टोली आएपछि प्रशासनले आवश्यक सहजीकरणको काम गर्नेछ ।’
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार अन्वेषण स्थलमा ड्रिलिङका लागि ३५ मिटरसम्म लामो फलामे पाइप लैजानुपर्ने छ । तर, सडक साँघुरो र घुम्तीहरु सानो भएकाले अन्वेषणको काम चुनौतीपूणर् छ । मुख्यगरी भेरी पुलमा समस्या पर्ने देखिएको छ । उनले भने, ‘घुम्तिहरु फराकिलो बनाउनुपर्ने हुन्छ । धेरै ठाउँमा सडकहरु पनि फराकिलो बनाउनुपर्ने हुन सक्छ ।’
पेट्रोलियम पदार्थ अन्वेषण अन्र्तगत पहिलो चरणमा म्याग्नेटोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षणमा सकारात्मक नतिजा आएपछि अर्को चरणको सर्भे अघि बढाउन खोजिए पनि काममा ढिलाई भैरहेको छ । दैलेखको भैरवी, भगवतीमाई, महावु र डुङ्गेश्वर गाउँपालिका तथा नारायण, दुल्लु र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम हुनेछ ।
२०७२ को चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्मा सहकार्य गर्ने सहमति भएको थियो । २०७५ माघमा नै चीनलाई नेपालका दुईवटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरिएको थियो ।
उक्त सहमति अनुसार २०७६ फागुनमा खानी तथा भूर्गभ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता समेत भएको थियो ।
चीनको वुहान शहरमा सन् २०१९ को डिसेम्वरमा देखिएको कोरोना भाईरस
(कोभिड-१९) को महामारीका कारण परियोजनाको काम झण्डै डेढ वर्षदेखि रोकिएको छ । चिनको वुहान शहरवाट शुरु भएको कोरोना महामारी विश्वभर फैलिएपछि कामले गति लिएको छैन । हाल कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि फेरी पनि काम शुरु हुदैनकी भन्ने आशंका जगाएको दैलेखका स्थानीयबासी टोपेन्द्र थापाको भनाई छ ।
तर यता यहि वैशाख २६ र २७ गते हुने दैलेख उद्योग वाणिज्य संघको चुनावलाई लक्षित गरी कति उम्मेदवारले यसलाई चुनावी नारा वनाउँछनु र कति काम गर्छन् त्यो भने हेर्न वाँकी नै छ ।