कर्णालीको चिकित्सक टोलि भेरी अस्पताल नेपालगन्ज पुग्यो, आइतबारदेखि नै काममा खटिने

मातृभूमि संवाददाता । १९ वैशाख दैलेख

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि नेपालगञ्ज पुगेको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगञ्ज पुगेको हो । टोली आइतबारदेखि नै भेरी अस्पतालको कोभिड वार्डमा खटिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । इन्चार्ज गिरीसहित टोलीमा डा. अरुण श्रेष्ठ, डा. हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन् ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा एमडी टिम बनाएको छ । उक्त टिमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टिम निश्चित समयका लागि परिचालन हुने गरेको छ । डा. गिरीको टोली नेपालगञ्ज रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *