दैलेखमा पहिलो पटक कोरोना संक्रमित शिक्षकको मृत्यु

मातृभूमी संवाददाता । २३ बैशाख दैलेख
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट दैलेखमा पहिलो पटक शिक्षकको मृत्यु भएको छ । भैरबी गाउँपालिका ४ स्थित गौरी माध्यामिक विद्यालय बालेकाँडामा कार्यरत ४५ बर्षीय शिक्षकको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले जानकारी दिए । गएको सोमवार गरिएको पीसीआर परीक्षणमा ती शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका शिक्षकको दैलेख अस्पतालको आइसोलेसनमा उपचार भैरहेको थिायो ।
‘अक्सिजन स्याचुरेसन असाध्यै कम थियो, दैलेख सदरमुकामस्थित आइसोलेसनमा अक्सिजन सहित उपचार गराई रहेका शिक्षकको स्वास्थ्य स्थिति थप जटिल बन्न थालेपछि हामीले सुर्खेत रिफर गरेका थियौँ,’ डा. थापाले भने, ‘थप उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा दैलेख-सुर्खेत सडक खण्डको जीरो प्वाइन्ट नजिकै उनको मृत्यु भएको हो ।’
योसँगै दैलेखमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिलो चरणमा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो भने दोस्रो चरणको कोरोना भाइरस तिव्र गतिमा फैलिएसँगै थप ४ जनाको मृत्यु भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *