दैलेखमा कोरोनावाट थप १ को मृत्यु, मृतकको संख्या १२ पुग्यो
मातृभूमी संवाददाता । २६ बैशाख दैलेख
दैलेखमा कोरोना संक्रमणवाट थप १ जनाको मृत्यु भएको छ । आज (आईतवार) विहान नारायण नगरपालिका ८ का ७० वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो । कोरोना संक्रमणवाट थप १ जनाको मृत्यु भएसँगै दैलेखमा कोरोनावाट मृत्यु हुनेको संख्या १२ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले जानकारी दिए ।
यस्तै कोरोना संक्रमितको संख्या १ हजार ९ सय ३७ पुगेको छ । डा. थापाका अनुसार १ हजार ५ सय ७१ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । हाल जिल्लामा ३ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित रहेको डा. थापाले जानकारी दिए । दैलेख अस्पतालको आइसोलेसनमा २७ जनाको उपचार भैरहेको छ भने ३ सय २८ जना होम आइसोलेसनमा रहेका छन् ।
काेराेना संक्रमितकाे नाम फेसवुकमा सार्वजनिक
कोरोना संक्रमित नागरिक खुलेआम समुदायमा हिड्न थालेपछि स्वास्थ्य सेवा कार्यालय दैलेखले संक्रमितको नाम सार्वजनिक गर्न थालेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले पहिलो चरणमा कोरोना संक्रमण देखिएका १ सय ११ जनाको नाम फेसवुक मार्फत सार्वजनिक गरेको छ । संक्रमितहरु समुदायमा खुलेआम हिड्न थालेको, आइसोलेसनमा वस्न नमानेकाले अन्य नागरिक सजग हुन् भन्नका लागी फेसवुक मार्फत संक्रमितको नाम सार्वजनिक गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले संक्रमितहरु खुलेआम समुदायमा घुलमिल हुन थालेपछि अझै कडाई गरिने वताए । प्रमुख जिल्ला अधिकारी प्याकुरेलले निषेधाज्ञाको पालना नगर्ने र खुलेआम समुदायमा घुलमिल हुने संक्रमितलाई कडा भन्दा कडा कारवाही गरिने वताए ।