नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको पुष्टि
मातृभूमी संवाददाता । ०५ जेठ दैलेख
नेपालमा कोरोनाभाइरसका थप दुई नयाँ प्रजाति (भेरियन्ट) फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै बी(१६१७२ र बी(१६१७१ प्रजातिका दुई म्युटेन्ट भाइरस भेटिएको जनाएको हो ।
देशका विभिन्न भागबाट गत साता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ र ३ प्रतिशतमा बी १६११७१ भाइरस फेला परेको हो ।
परिवर्तित दुई भाइरससँगै नेपालमा फैलिएको कोरोनाभाइरसको नयाँ प्रजाति तीन पुगेको छ ।
यसअघि नेपालमा युके भेरिएन्ट फैलिएको मन्त्रालयले जनाएको थियो ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा समेत गरेको छ ।
हाल पत्ता लागेको भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ ।
सरकारले विज्ञप्तीमार्फत जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह समेत गरेको छ ।