राउटे युवतीलाई होटलमा लिएर दुर्व्यवहार गर्ने तीन जना पक्राउ
मातृभूमी संवाददाता । २३ जेठ दैलेख
जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेका छन् ।
राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरुलाई दवावमा राखेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत पक्ष हो,’ प्रजिअ रिजालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं ।’
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।