सामाजिक संजालमा पत्रकारलाई तथानाम लेख्ने स्वास्थ्यकर्मी विरुद्ध प्रहरीमा निवेदन
मातृभूमी संवाददाता । २७ जेष्ठ दैलेख
समाचारको विषयलाई लिएर सामाजिक संजालमा पत्रकारका विषयमा तथानाम लेख्ने स्वास्थ्यकर्मीमाथि नेपाल पत्रकार महासंघ दैलेखले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखमा निवेदन दिएको छ । सामाजिक संजाल फेसवुकमा समाचार लेख्ने पत्रकारलाई पैशामा विकेको, पैशा लिएर समाचार लेखेको जस्ता शव्द प्रयोग गरी स्टाटस लेख्ने नौमूले गाउँपालिका ३ द्धारी कागतेका स्वास्थ्यकर्मी ज्वाला चन्द विरुद्ध पत्रकार महासंघ दैलेखले कारवाहीको माग गर्दै दैलेख प्रहरीमा निवेदन दिएको हो ।
फेसवुकमा के लेखेकी थिन् उनले ?
मातृभूमी संचार केन्द्र नेपालद्धारा संचालित मातृभूमी डिजिटल पत्रिकामा यहि २०७८ जेष्ठ २३ गतेका दिन “वेथिति श्रृंखला-२७ : सहयोगीको भरमा स्वास्थ्य इकाई, हाजिर हुन्छ कर्मचारी हुँदैनन्” शिर्षकको समाचार प्रकाशन भएपछि कागते सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत कर्मचारी ज्वाला चन्दले “पत्रकारलाई कति Money दिएर किनेको रहेछ । Nowdays को journalist money मा विकेको रहेछन् ।” भनि सम्पुर्ण पत्रकारहरुको व्यवसायीक मर्यादा माथि आँच पुग्ने गरी स्टाटस पोष्ट गरिएको हुँदा सत्य तथ्य वुझि आवश्यक कानुनी कारवाहीको माग गर्दै दैलेख प्रहरीमा निवेदन दिईएको हो ।
समाचार प्रति चित्त नवुझे छानविन, खण्डन र कानुनी प्रक्रियामा जाने विभिन्न निकाय हुँदाहुँदै सामाजिक संजालमा पत्रकारका विरुद्धमा तथानाम लेखेको र सम्पुर्ण पत्रकारहरुको व्यवसायीक मर्यादामाथी आँच आउने खालको अभिव्यक्ति दिएको भन्दै पत्रकार महेन्द्र सापकोटाले पत्रकार महासंघ दैलेखमा मौखिक उजुरी दिएपछि महासंघले दैलेख प्रहरीमा निवेदन दिएको जनाईएको छ ।