बजारमा अखाद्य वस्तु छ्याप्छ्याप्ती, स्थानिय तह र जिल्ला प्रशासनको मौनता कायमै

मातृभूमी संवादददाता । ०७ असार दैलेख
दैलेखमा अखाद्य वस्तुको विक्री वितरण भैरहेको पाईएको छ । अनुगमनको अभाव र कोरोना महामारीका कारण व्यापारीहरुले अखाद्य वस्तुको विक्री वितरण गरिरहेको पाईएको हो । दैलेख सदरमुकाम लगायत जिल्लाका स्थानीय बजारमा म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको स्थानीयले गुनासो गर्दै आएका छन् ।
म्याद सकिएको र कुहिएको उपभोग्य सामानहरु भेटिन थालेपनि सरोकारवाला निकायले बजार अनुगमन र नियन्त्रणलाई ध्यान दिन नसकेकोले उपभोक्ताहरु मर्कामा परेका छन् । नियमन निकाय स्थानीय प्रशासन र सरोकारवालाले प्रभावकारी बजार अनुगमनमा ध्यान नदिएको स्थानीयले आरोप लगाएका छन् र्। वजार अनुगमन त हुन्छ, एक उपभोक्ताले भने, तर प्रभावकारी रुपमा नभई झारो टार्ने काम मात्र भएको छ ।’
खाद्यवस्तु नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालय, नगरपालिका, स्थानीय वजार अनुगमन समिति, स्थानीय प्रशासनले जनगुनासो सुन्ने तर प्रभावकारी अनुगमन र नियन्त्रण नगर्ने हुनाले अखाद्य वस्तुको विक्रिवितरण नरोकिएको नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष उपभोक्ता महेन्द्र सापकोटा वताउछन् ।
केहिदिन अघि उपभोक्तासमेत रहेका उपाध्यक्ष महेन्द्र सापकोटाले सदरमुकाममा रहेको टोपेन्द्र अर्डर सप्लायर्सवाट खरिद गरेको दाल कुहिएको पाईएपछि जिल्ला प्रशासन कार्यालय दैलेखमा गुनासो गरेका थिए । सापकोटाले प्रशासनमा गुनासो गरेपछि प्रहरीले पसलमा छापा मारेर अखाद्य वस्तु जफत गरेर संचालक टोपेन्द्र नेपालीलाई जाँचवुझका लागी जिल्ला प्रहरी कार्यालयमा वोलाएको थियो ।
सापकोटाले भने, ‘हामी जस्ता मान्छे त ठगिन्छौँ भने दुर्गम क्षेत्रका नागरिकको हालत के होला ? यस विषयलाई गम्भिर रुपमा लिएर स्थानीय प्रशासन र सरोकारवाला निकायले प्रभावकारी अनुगमन गरी कानुनी दायरामा ल्याउन जरुरी छ ।’
सदरमुकामको बजारका सचेत उपभोक्ताहरूले अखाद्य वस्तु खाइरहेको अवस्थामा यहाँबाट आपूर्ति हुने गाउँका स्थानिय वजारमा गुणस्तरहीन र म्याद गुज्रेका वस्तु छ्यापछ्याप्ती रहेको छ ।
अहिले व्यापारीहरुले वजारमा खाद्य वस्तुको मुल्य तोकिएको भन्दा पनि वढि लिने गरेको पनि भेटिएको छ । वजारमा खाने तेलको मुल्य लेखिएको भन्दा झण्डै २५/३० रुपैया वढि लिने गरिन्छ नी भन्ने जिज्ञासामा नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले आफुले पनि त्यहि मुल्यमा खाईरहेको भन्ने जवाफ दिईन् ।
उपप्रमुख सावित्री मल्लले आफुहरुले यसअघि विभिन्न समयमा वजार अनुगमन गरिरहेको दावी गरिन् । उनले यसअघि विभिन्न समयमा वजार अनुगमन गरेको भन्दै लकडाउनका कारण वजार अनुगमन गर्न नसकिएको स्वीकारीन् । उपप्रमुख मल्लले जिल्ला प्रशासन कार्यालय दैलेखको सहयोगमा वजार अनुगमन गर्ने योजना वनाएको वताईन् । वजार अनुगमन गरी नियमन गर्ने व्यक्तिले नै लेखिएको भन्दा वढि मुल्य तिरेर खाद्य वस्तु खान थालेपछि आम सर्वसाधारण नागरिक र गाउँका सोझासाझा जनताले कसरी दैनिकि गुजारीरहेका होलान् ? यस विषयमा तत्काल वजार अनुगमन गरी कालोवजारी गर्ने व्यापारीलाई कानुनी दायरामा ल्यान सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

के छ स्थानीय तहले गर्ने वजार अनुगमनको प्रावधान ?

स्थानीय तहबाट गरिने बजार अनुगमन निर्देशिका, २०७४ को परिच्छेद २ मा उपभोक्ताको हित संरक्षण सम्बन्धी बिषयमा आवश्यक नीतिगत ब्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एंव समन्वयको लागि गाउँपालिका/नगरपालिकाले ७ सदस्यीय उपभोक्ता हित संरक्षण समितिको गठन गर्ने भनी उल्लेख गरिएको छ ।
जस अन्तरगत सोहि निर्देशिकाको परिच्छेद ३ मा वजार अनुगमन गर्दा वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन गाउँपालिका/नगरपालिकाले विभिन्न व्यवस्था गर्नु पर्ने उल्लेख गरिएको छ । जसमा गुणस्तरीय उपभोग्य वस्तु तथा सेवाको सहज र सर्वसुलभ आपूर्ति हुने वातावरणको सुनिश्चितता सहित उपभोक्ताको हक र हितको संरक्षण गर्न कार्यालयमा उपभोक्ता हित संरक्षण शाखा वा इकाई वा डेक्सको व्यवस्था गरी नियमित र प्रभावकारी बजार अनुगमनको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको भएपनि दैलेखका स्थानीय तहले शाखा वा इकाई वा डेक्सको व्यवस्था गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *