नेपालमा कोरोनावाट थप ४६ जनाको मृत्यु
मातृभूमी संवाददाता । ०७ असार काठमाण्डौ
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ३० जनाले कोरोना भाईरस (कोभिड-१९) लाई जितेर घर फर्किएका छन् भने ४६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ३ सय ७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २ सय ८५, ललितपुरका ६१ र भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर ५३ हजार ९ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
‘नेपालमा कोरोनाको डेल्टा भेरियन्ट फैलिएको छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हाल कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेटियन्ट फैलिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट संकलन गरिएको ४८ नमूना मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट देखिएको जानकारी दिए ।
विश्व स्थास्थ्य संगठनबाट मान्यता प्राप्त भारतको नयाँ दिल्लीमा गरिएको परीक्षणमा ४७ जनाको नमूनामा डेल्टा भेरियन्ट र १ जनाको नमुनामा अल्फा भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. पौडेलले डेल्टा भेरियन्ट देखिएका ४७ नमूना मध्ये पनि ९ नमुनामा के फोर्टिवन सेभेन एन नामक म्यूटेसन भेरियन्ट देखिएको बताए ।
यो नयाँ प्रजातीको भेरियन्ट हालसम्म १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म डेल्टा, अल्फा र कप्पा भेरियन्ट देखिएको सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । सहप्रवक्ता अधिकारीका अनुसार अहिले देखिएका तीनवटै भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने अध्ययनबाट पुष्टि भएको छ ।
यस्तै मन्त्रालयले बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा सहयोग गर्न जानेहरुले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको छ । संक्रमणको जोखिम कायमै रहेको भन्दै मन्त्रालयले सहयोग गर्न जानेहरुले अनिवार्य रुपमा सुरक्षा सावधानी नअपनाउने हो भने संक्रमण बढ्ने खतरा रहेको भन्दै ध्यानाकर्षण गराएको छ ।