यौन दुर्व्यवहार गर्ने शाहीलाई १ वर्ष कैद र १० हजार जरिवाना

मातृभूमी संवाददाता । १३ असार दैलेख
यौन दुर्व्यवहार घटनाका कसूरदारलाई दैलेख जिल्ला अदालतले १ वर्ष कैद र १० हजार जरिवाना गरेको छ । १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने दुल्लू नगरपालिका १३ मालिकाका २२ वर्षीय रामबहादुर शाहीलाई दैलेख जिल्ला अदालतले १ वर्ष कैद र १० हजार जरिवाना गरेको हो ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट शाहीलाई १ वर्ष कैद र १० हजार जरिवानाको अलवा ४ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । २०७७ साउन ११ गते भएको भनिएको उक्त यौन दुर्व्यवहार घटना बाल यौन दुरुपयोग भएको ठहर गर्दै उक्त फैसला भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो । घटनाको दुई दिनपछि साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको जाहेरी र प्रहरीले अनुसन्धानका आधारमा जिल्ला सरकारी वकील कार्यालयले २०७७ भदौ ७ गते दैलेख जिल्ला अदालतमा अभियोग पेश गरेको थियो ।
अभियोग भएकै दिन भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाडी लामिछानेको इजलासबाट पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो । यो फैसलाको आधारमा कसूरदारले जरिवाना र पीडित राहत कोषमा जम्मा गरेमा आउँदो साउन १३ गते कैद भुक्तान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *