कोरोना संक्रमितको अवस्था वुझ्न स्वास्थ्यकर्मीको टोली नौमूलेमा
मातृभूमी संवाददाता । १४ असार दैलेख
जिल्ला अस्पताल दैलेखको डाक्टर सहितको टोली सोमवार नौमूले प्राथमिक स्वास्थ्य केन्द्रमा पुगी त्यहाँ रहेका कोरोना संक्रमितको अवस्थाको वारेमा वुझेको छ । नौमूलेमा कोरोना संक्रमण वढेको भन्दै जिल्ला अस्पताल दैलेखको स्वास्थ्यकर्मीको टोली नौमूले पुगी त्यँहाका क्वारेन्टीनमा वसेका विरामीको अवस्थाको वारेमा वुझेको हो ।
उक्त टोलीले प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेको क्वारेन्टीनमा वसेका विरामीलाई आवश्यक स्वास्थ्य सल्लाह दिई अन्य समस्याको वारेमा जानकारी लिएको जिल्ला स्वास्थ्य कार्यलय दैलेखको प्रयोगशालामा कार्यरत टकवहादुर भण्डारीले वताए । विरामीलाई उच्च मनोवलका साथ आफ्नो स्वास्थ्यको ख्याल राख्दै अफ्ठ्यारो परेमा स्वास्थ्यकर्मीको सल्लाह लिन डा. शुशिला कटुवालले आग्रह गरिन् ।
नौमूले गाउँपालिकामा विरामीको अवस्थाको वारेमा जानकारी लिई आवश्यक स्वास्थ्य चेकजाँच गर्न प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सल्लाह दिएका थिए । हाल नौमूलेमा कोरोनाका सक्रिय संक्रमित १३ जना रहेका छन् । टोलीले ५ जनाको एन्टीजेन चेक गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कोरोनावाट दैलेखमा २७ जनाको मृत्यु
दैलेखमा सोमवार गरिएको पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३ सय २७ पुगेको छ । कुल संक्रमित मध्ये ३ हजार २ सय जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसैगरी दैलेख अस्पतालको आईसोलेसनमा ६ जनाको उपचार भैरहेको छ । दैलेख जिल्ला भरी एक सय जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिर प्रसाद रेग्मीले जानकारी दिए । दैलेखमा हाल सम्म कोरोना भाइरस (कोभिड-१९) को संक्रमणवाट २७ जनाको मृत्यु भएको छ ।
कर्णालीमा ९१ प्रतिशतले जिते कोरोना
कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएकामध्ये ९१ प्रतिशतले कोरोना संक्रमणलाई जितेका छन् । यो समाचार तयार पार्दासम्म प्रदेशमा २७ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २५ हजार ४ सय ४३ जनाले संक्रमणलाई जितेका हुन् । कूल संक्रमितको ९१ प्रतिशतले कोरोना जितेको कर्णाली स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।
कर्णालीमा पछिल्लोे दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ । अहिले दैनिक पुष्टि हुने संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको हो । निर्देशक डा. खड्का भन्छन्, ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ ।’ उनले संक्रमणमुक्त हुनेहरूको संख्या धेरै हुँदा संक्रमितहरूको आत्मबल पनि बढेको पाइएको वताए । केही दिनयता मृत्यु दरमा समेत कमी आएको छ । यो समाचार तयार पार्दासम्म प्रदेशमा ३ सय ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
कोरोना महामारीबाट प्रदेशमा सबैभन्दा ठूलो मानवीय क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा एक सय ७८ जनाको कोरोनाका कारण ज्यान गएको छ । कोरोना संक्रमित भएका सल्यानका ५०, रुकुम-पश्चिमका २९, दैलेखका २७ र जुम्लाका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस्तै, डोल्पामा ५, कालीकोटमा ४, मुगु र जाजरकोटमा ३/३ जनाको मृत्यु भएको छ । हुम्लाका २ र कणर्ालीमै रहेका अन्य प्रदेशका ४ जनाको पनि कोरोनाबाट ज्यान गएको निर्देशनालयले जनाएको छ ।
कोरोनावाट नेपालमा ४२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ११ हजार ६ सय ४० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८ सय ५३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ५ लाख ८८ हजार १ सय ८७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३ सय ५५, ललितपुरमा १ सय १२ र भक्तपुरमा ४७ जना संक्रमित थपिएका हुन् ।