कोरोना महामारीमा विना सावधानी धान दिवस मनाउँदै (तस्विर सहित)
मातृभूमी संवाददाता । १५ असार दैलेख
कोरोना महामारीको बेला दैलेखमा सयौँ मानिस जम्मा भएर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको पाईएको छ । दैलेखको नारायण नगरपालिका ७ भनभनेमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सयौँ मानिस जम्मा भएर मनाईएको पाईएको हो । कृषि विकास कार्यालय दैलेखले आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सावधानीका कुनैपनि उपाय नअपनाई मनाईएको छ ।
राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा महिला तथा वालवालिका, युवायुवती, वृद्धवृद्धा र जनप्रतिनिधि समेत भेला भएर मनाइएका हुन् । राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा उपस्थीत भएका कुनैपनि व्यक्तिले सुरक्षा सावधानी अपनाएका छैनन् । उनीहरुले मास्कको समेत प्रयोग नगरेर सयौँ मानिस भेला भएको स्थानीयले वताएका छन् ।
स्थानीयका अनुसार जनप्रतिनिधि र कर्मचारी समेतले सुरक्षा सावधानी अपनाएका छैनन् । कर्मचारी र जनप्रतिनिधिहरुले आम जनतालाई कोभिडको वारेमा जनचेतना जगाउनुको साटो आफैले कुनैपनि सुरक्षा सावधानी नअपनाएको स्थानीय टोप खड्काले वताए ।
“कृषि विकास कार्यालयको प्रमुखलाई १५ जना भन्दा वढि भेला नगरी सांकेतिक रुपमा दिवस मनाउन भने पनि त्यसो गरेको नपाईएकोले कार्यालय प्रमुखलाई कारवाही गरिने”
यता दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जनप्रतिनिधि र कर्मचारीले नैतिक दायित्व वोध गर्नुपर्नेमा त्यसो नगरेको वताए । आफुले कृषि विकास कार्यालयको प्रमुखलाई १५ जना भन्दा वढि भेला नगरी सांकेतिक रुपमा दिवस मनाउन भने पनि त्यसो गरेको नपाईएकोले कार्यालय प्रमुखलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले वताए । आफुलाई पनि वोलाएको वताउँदै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले मेयर र कर्मचारी जस्ता व्यक्तिले नैतिक जिम्मेवारी वोध नगरेको भन्दै कार्यालय प्रमुखसंग कति जना उपस्थित थिए त्यसको लिखित स्पष्टिकरण सहित कारवाही गरीने जानकारी दिए ।
कोरोना संक्रमण समुदायमा फैलिरहेका वेला स्थानीय नागरिकहरुमा कोरोनाको त्रास कायमै छ । कोरोना संक्रमणको त्रास कायमै रहेको बेला कर्मचारी, जनप्रतिनिधि नै जम्मा भएर यसरी रोपाई महोत्सव गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ । सचेतना फैलाउनुपर्ने व्यक्तिहरु नै जथाभावी कार्यक्रममा सहभागी हुन थालेपछि समुदायमा गलत सन्देश गएको समाजका अगुवाहरुको भनाई छ । कोरोना भाइरसको संक्रमणबाट बच्न थप सजगता अपनाउन, सामाजिक दुरी कायम गर्दै भीडभाड नगर्न आग्रह गर्दै आएको जिल्ला प्रशासन कार्यालय दैलेख यस्ता भेलावारे बेखबर छ ।
हाल दैलेख जिल्लामा कोरोनाका १ सय ४ जना सक्रिय संक्रमीत रहेका छन् । जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ३ सय ३१ जना पुगेको छ । यसैगरी ३ हजार २ सय जनाले कोरोना संक्रमणलाई जितेका छन् भने संक्रमणवाट २७ जनाको मृत्युु भएको छ । हाल जिल्लामा १ सय ४ जना सक्रिय संक्रमितको रहेका छन् । दैलेख अस्पतालको आइसोलेसनमा ७ जनाको उपचार भैरहेको छ ।
(धान दिवसका तस्विरहरू)