वेथिति श्रृंखला-२८ : योजनाका सूचना पार्टी अझै टाँस भएनन्, नारायण नगरपालिका सुशासनमा कमजोर

मातृभूमी संवाददाता । १६ असार दैलेख
योजना सम्पन्न भैसक्दा समेत दैलेखको नारायण नगरपालिकाका विभिन्न उपभोक्ता समितिले अझै सूचना पार्टी टाँस नगरेको पाईएको छ । सम्झौता मिति, सम्पन्न मिति, लागत रकम लगाएतका विविध कुरा उल्लेख गरिने सूचना पार्टी नारायण नगरपालिकाका उपभोक्ता समितिले टाँस नगरेको पाईएको हो । भुक्तानी लिनका लागी सूचना पार्टी निर्माण गरेर फोटो खिच्ने तर सम्वन्धित योजना स्थलमा सूचना पार्टी राख्ने गरेका छैनन् ।
नारायण गरपालिकाको वडा नं. ६ मा रहेका देविस्थान मष्टाथान निर्माण, वसपार्क देखी शहरी स्वास्थ्य क्लिनिक हुँदै शिवालय सडक स्तरोन्नती योजन, वडा नं. १ मा रहेको श्रीस्थान प्रतिक्षालय धारा निर्माण, पुरानो वजार वसपार्क स्तोरोन्नती, गणेशथान मन्दिर पुर्वाधार निर्माण लगाएतका कयौँ योजनाका सूचना पार्टी निर्माण गरिएको भएपनि सूचना पार्टी टाँस गरिएको छैन । सूचना पार्टीमा असार १५ गते योजना सम्पन्न गर्नुपर्ने लेखिएको भएपनि असार १६ भैसक्दा समेत सूचना पार्टी टाँस नगरीएको पाईएको छ ।
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ परिच्छेद ३ को कार्यान्वयन तथा ब्यवस्थापन अन्र्तगत दफा ११ को भुक्तानी प्रकृया उपदफा (७) मा आयोजनाको कुल लागत ३ लाख भन्दा बढी भएका आयोजनाहरुको हकमा उपभोक्ता समितिले काम शुरु गर्नु भन्दा अगावै आयोजनाको नाम, लागत, लागत साझेदारीको अवस्था, काम शुरु र सम्पन्न गर्नु पर्ने अवधि समेत देखिने गरी तयार गरिएको अनुसूची ५ बमोजिमको ढाँचामा आयोजना सूचना पार्टी आयोजना स्थलमा राख्नु पर्नेछ भनि उल्लेख गरिएको भएपनि योजना सम्पन्न भैसक्दा समेत सूचना पार्टी टाँस गरिएको छैन ।
नारायण नगरपालिका वडा नं. १ मा रहेको श्रीस्थान प्रतिक्षालय धारा निर्माण र गणेशथान मन्दिर पुर्वाधार निर्माणको काम सम्पन्न भएर वडा कार्यालयवाट रकम भुक्तानीका लागी सिफारिस भैसक्दा समेत सूचना पार्टी टाँस नगरिएको नाम नछाप्ने शर्तमा एक स्थानीयले वताए । नारायण नगरपालिकाको ९ लाख ७० हजार अनुदान र १ लाख ७८ हजार २ सय ९५ रुपैयाँ ३२ पैशा जनश्रमदान गरी ११ लाख ४८ हजार २ सय ९५ रुपैयाँ ३२ पैशा लागतको गणेशथान मन्दिर पुर्वाधार निर्माण योजनाको काम यहि जेठ २५ गते सम्पन्न भैसकेको लेखिएको सूचना पार्टी अझै पनि नारायण नगरपालिका १ नं. वडा कार्यालयमा थन्किएको छ । योजना स्थलमा हुनुपर्ने सूचना पार्टी १ नं. वडा कार्यालयमा थन्किएको स्थानीयले वताए ।
यसैगरी नारायण नगरपालिका वडा नं. १ मा निर्मााण भएको श्रीस्थान प्रतिक्षालय धारा निर्माण योजना सम्पन्न हुने मिति २०७७ चैत्र ३० गते लेखिएको सूचना पार्टी समेत १ नं. वडा कार्यालयमा थन्किएको छ । नगरपालिकाको ४ लाख ७७ हजार ५ सय अनुदान र ६१ हजार ७९ हजार जनश्रमदान गरी ५ लाख ३४ हजार ९८ रुपैयाँ लागतको उक्त योजनाको सूचना पार्टी समेत १ नं. वडा कार्यालयमा थन्किएको पाईएको हो ।
नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थनारायण श्रेष्ठले वडामा संचालनमा रहेका योजनाको सूचना पार्टी निर्माण भएको वताए । वडाध्यक्ष श्रेष्ठले सूचना पार्टी के-कती कारणले योजना स्थलमा टाँस नगरिएको हो यस विषयमा वुझ्ने भन्दै यदी त्यसो गरेको पाईए भुक्तानी प्रक्रिया रोक्ने जानकारी दिए ।
यस्तै नारायण नगरपालिका दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशम वहादुर वुढाले नरपालिकामा संचालन भैरहेका योजनाको अनुगमन गरिने वताए । निमित्त प्रमुख प्रशासकीय अधिकृत वुढाले ५ लाख भन्दा माथिका योजना निर्माण गर्दा सूचना पार्टी राख्नु पर्ने प्रावधान भएको र अनुगमन गर्दा सूचना पार्टी टाँस नगरेको पाईए भुक्तानी प्रक्रिया रोकिने वताए ।
नारायण नगरपालिका दैलेख सुशासन पाटोमा कमजोर रहेको स्थानीय वुद्धिजीवीले वताएका छन् । उनीहरुले योजनामा मात्र सूचना पार्टी टाँस गर्ने मात्र नभई स्वत प्रकाशन गर्नु पर्ने सूचना समेत प्रकाशन गर्ने नगरेको वताएका छन् । नारायण नगरपालिकाले स्वत प्रकाशन गर्नु पर्ने सूचना, योजना स्थलमा सूचना पार्टी टाँस गर्ने, सवैले देख्ने गरी र वुझ्ने गरी नागरिक वडापत्र राख्ने लगाएतका कुनै पनि कार्य नगरेको भन्दै नगरपालिका सुशासनको पाटोमा कमजोर रहेको स्थानीय वुद्धिजीवीहरुको भनाई छ । नरपालिकाले आम सर्वसाधारणलाई सूचना पाउनवाट वन्चित गरेको, योजनाको लागत रकमको वारेमा जानकारी पाउनवाट वन्चित गर्दा नगरपालिकामा वेथिति मौलाएको स्थानीय अमित श्रेष्ठले आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *