भिरबाट खसेर एक जनाको मृत्यू, एक जना घाइते
मातृभूमी संवाददाता । ०१ साउन दैलेख
घाँस काट्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । भगवतीमाई गाउँपालिका ४ जगनाथमा घाँस काट्ने क्रममा भिरवाट खसेर एक किशोरीको ज्यान गएको हो । यसैगरी भिरवाट खसेर अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय स्याउलीपाखामा घाँस काट्दै गर्दा चिप्लिएकी १५ वर्षीया रोशनी थापालाई समाउन खोज्दा रोशनीसंगै भिरबाट खसेर १७ वर्षीया टीका बीसीको ज्यान गएको प्रहरी चौकी बेस्तडाका इञ्चार्ज असई ओमप्रकाश ढकालले जानकारी दिए ।
स्याउलीपाखा भिरबाट तीन सय मीटन तल गोर्खे खोलाको किनारमा खसेकी रोशनीको ढाड र टाउकोमा कडा चोट लागेका कारण बेस्तडामा प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ ।
घाइतेको उद्धारपछि प्रहरी र स्थानीयको प्रयासमा स्याउलीपाखा भिरवाट खसेर सख्त घाइते अवस्थामा फेला परेकी टीका बीसीलाई उपचारको लागि दैलेख अस्पताल ल्याईए पनि बाटोमै प्राण गइसकेको दैलेख अस्पतालका डा. जगत थापाले वताए ।
मध्यपहाडी राजमार्गले छोएको भगवतीमाई गाउँपालिकाका स्थानीयहरु पहिलेदेखि नै पशुपालन गर्दै आएका छन् । किसानहरु भैंसीपालनबाट प्रशस्तै घिउ बेचेर राम्रो आमदानी समेत गरिरहेका छन् ।
भैंसीका लागि घाँस काट्न जाँदा वर्षेनी मानिसको ज्यान जाने गरेको छ । ज्यान जानेमा प्राय महिलाहरु नै छन् । घाँस काट्न गएर मर्ने र घाइते हुने महिलाहरुको संख्याले महिलाहरुले कृषि व्यवसाय धानेको अनुमान गर्न सकिन्छ ।
पशुबस्तुहरु घरमै बाँधेर राख्ने र घाँसको सट्टा वैकल्पिक आहाराको प्रवन्ध गर्ने विधि नभित्रिएको कारण परम्परागत कृषि प्रणालीका कारण घाँस काट्न गएर ज्यान जाने गरेको जगनाथका अगुवा किसान रामबहादुर बुढाको भनाई छ ।