वेथिति श्रृंखला-३१ : श्रीस्थान सडक स्तरोन्नतिको काम गुणस्तरहिन, सराेकारवाला माैन (तस्विर सहित)

मातृभूमी संवाददाता । ०३ साउन दैलेख
दैलेख सदरमुकामदेखी श्रीस्थानसम्मको सडक स्तरोन्नतिको काम गुणस्तरहीन भएको पाईएको छ । सडक स्तरोन्नतिका क्रममा निमाणर् कम्पनीले गुणस्तरहीन आरसीसी गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । गुणस्तरहीन काम भएपछि स्थानीयले गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिदै गुणस्तरहीन आरसीसी भत्काएका छन् । दैलेख सदरमुकामदेखी श्रीस्थानसम्मको सडक स्तरोन्नतीको काम संचालन भएको वर्षौं वितिसक्दा समेत काम सम्पन्न नहुँदा पैदल यात्रुलाई समेत सास्ती भएको छ ।
दैलेख सदरमुकाम श्रीस्थान सडक स्तरोन्नतिका लागि सुपर स्टार कस्ट्रक्सनले ठेक्का लिएको छ । निर्माण कम्पनीले सडक स्तरोन्नतीको काम कहिलेदेखी सुरु भएको हो ? लागत रकम कति हो ? कहिले सम्म सम्पन्न भैसक्नु पर्ने हो ? लगायतको जानकारी दिने होर्डिङ वोर्ड नराख्दा सडक निर्माण कहिले सम्म भैसक्नु पर्ने हो त्यसवारे पनि जानकार नभएको स्थानीयको भनाई छ । सहरी विकास अन्र्तगत झण्डै ३ करोड वढि योजनामा चरम लापरवाही भएको स्थानीयले वताए ।
सडक स्तरोन्नतीको नाममा नागरिकको आखाँमा छारो हाल्ने काम गरेको भन्दै सरकोकारवाला निकायबाट यथाशीघ्र अनुगमन गरी कारबाही नगरे सडक निमाणर् कार्यमा अवरोध गर्ने स्थानीयले चेतावनी दिएका छन् । सडकको स्तरोन्नतिको क्रममा गुणस्तरहीन आरसीसी गरिएको नारायण नगरपालिका वडा नं. १ वडा सदस्य समेत रहेका स्थानीय रमेश केसीले बताए । ‘स्तरोन्नतिको काम गुणस्तरहीन भइरहेको छ भन्ने गुनासो बढेपछि युवाहरु मिलेर सडकको आरसीसी भैरहेको ठाँउको अवलोकन गरेका थियौँ,’ उनले भने, ‘आरसीसीको काम गुणस्तरहिन भएको पाईएपछि युवाहरु मिलेर भत्काएका थियौँ ।’
अहिले पनि सडक स्तरोन्नतिको काम चलिरहेको छ । सदरमुकामदेखी श्रीस्थान सडक खण्डमा गुणस्तरहिन काम भइरहेको भए पनि सरोकारवाला निकाय मौन बसेको स्थानीयवासीले आरोप लगाएका छन् । दैलेख बजारदेखि श्रीस्थान जाने बाटोमा काम त गुणस्तरहिन छ नै काम पनि ढिलासुस्ती भैरहेका कारण आम समुदायलाई हिडडुल गर्न समेत गाह्रो भएको छ । स्थानीय केसीले भने ‘जिम्मेवार व्यक्तिहरुले गुणस्तरहिन काम भैरहेको विषयमा ध्यान नदिएको, ठेकेदार कम्पनीसंग काम गर्ने स्रोत साधन नभएको, आरसीसी गर्दा प्रयोग गरिने भाईव्रेटर पनि प्रयोग नगरिदा काममा ढिला सुस्ती त छ नै १ सय ५० मिटर आरसीसी गर्न पनि महिनौ लाग्ने देखिन्छ ।’
सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन भए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण समयमै सडकको स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेपिरहनु परेको छ एक अर्का स्थानीयले भने । बारम्बार कमसल, गुणस्तरहिन काम भएको जानकारि गराउदा पनि जिम्मेवार निकायले ध्यान नदिएको भन्दै सबैको मिलोमतोमा गिट्टी प्रयोग गर्नु पर्ने आरसीसीमा मोरङ प्रयोग गरिएको भन्दै स्थानीयले आक्रोस पोखे ।
गुणस्तरहिन काम भैरहेकोवारे प्राबिधिकलाई पटक पटक जानकारी गराउँदा समेत चासो नदेखाएको उनीहरुको भनाई छ । जिम्मेवार निकायले स्थानीय नागरिकलाई काममा लगाउदा आफुले भने जस्तो गर्न नपाइने भएकै कारण स्थानीय कामदारलाई कामवाट निकालीएको र दिनमा काम नगरि रातिमा काम गरिएको उनीहरुले वताएका छन् ।
नारायण नगरपालिका वडा नं. १ वडा सदस्य समेत रहेका स्थानीय रमेश केसीले नारायण नगरपालिका दैलखका मेयर रत्नवहादुर खड्कालाई गुणस्तरहिन काम भएको भन्दै जानकारी गराए पनि यस विषयमा खासै चासो नदिएको वताए । उनले भने, ‘मेयरसापले खासै चासो दिनु भएन त्यसपछि सिडियोसापलाई जानकारी गरायौँ उहाँले पनि काम ठिकै भएको छ भन्नु भयो । अनि हामी युवाहरु मिलेर आरसीसी भत्काउन वाध्य भयौँ ।’
सानातिना काममा ध्यान दिने सराेकारवाला निकायले ठुला र गाैरवका योजनामा चासो नदिएको भन्दै सवैको मिलिमतो हुन सक्ने नाम नवताउने सर्तमा एक स्थानीयले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *