क्रियाशील सदस्यता विवादलाई देखाउँदै अमरेशकुमार सिंहले दिए सांसद पदबाट राजीनामा

मातृभूमी राजनितिक व्युराे । ०६ साउन काठमाण्डाै

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद चर्किएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालार्य पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएको सिंहले बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ईमेज खबरलाई जानकारी दिँदै सिंहले भने, ‘अहिले प्रधानमन्त्रीलाई बुझाएको छु । समाधान नभए सभामुखलाई पनि बुझाउने छु ।’ नेपाली कांग्रेस केही दलालहरुको पार्टी नभएको भन्दै उनले भने, ‘यो बीपीले बनाएको पार्टी हो । यहाँ हिमाल, पहाड, तराई सबैतिरका कार्यकर्ताले सुरक्षित महशूस गर्न पाउनुपर्छ ।’

पार्टी अहिले दलाल, भूमाफिया, तस्कर, ठेकेदारहरुको हातमा पुग्न थालेको र इमान्दार कार्यकर्तालाई पाखा लगाउन थालेकाले यही सन्देश लिएर आफू देश दौडाहामा जाने पनि उनले बताए । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट गत निर्वाचनमा निर्वाचित भएका हुन् ।

पार्टी कार्यालयमा सानेपामा केही दिनयता सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ता अनशनमा छन् । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव त आमरण अनशनमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *