वेथिति श्रृंखला-३२ : ठेकेदारको दादागिरी, मध्यपहाडी राजमार्गमा अवैध दोहन (तस्विर सहित)
मातृभूमी संवाददाता । ०९ साउन दैलेख
मध्यपहाडी राजमार्ग अन्र्तगत लोहोरे-दैलेख सदरमुकाम खण्डमा ठेकेदार कम्पनीले अवैध दोहन गरेको पाईएको छ । लोहोरे-दैलेख सदरमुकाम खण्डको पान्तोला नजिक ठेकेदार कम्पनीले अवैध दोहन गरेको पाईएको हो । सदरमुकाम नजिकै रहेको पान्तोला नजिक ठेकेदार कम्पनीले अवैध रुपमा ढुङ्गा, गिट्टी निकाल्दा वन विनास भएको र अवैध दोहन भएको स्थानीयले वताएका छन् । नारायण नगरपालिका र सरोकारवाला निकायको मौनताका कारण ठेकेदार कम्पनीले वन विनास गर्नुका साथै अवैध दोहन गरेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय तह र सरोकारवाला निकायको आडमा ठेकेदार कम्पनीले दादागिरी मच्चाएको नारायण नगरपालिका ७ का एक स्थानीयले नाम नछाप्ने शर्तमा वताए । आफुहरुले ठेकेदार कम्पनीलाई यसरी अवैध दोहन नगर्न अनुरोध गर्दा उल्टै सडक निर्माण गर्ने क्रममा आफ्नो अधिकार क्षेत्रभित्र ३१ मिटर पर्ने भन्दै कम्पनीलाई पाएक पर्ने ठाउँमा उत्खनन गर्न सक्ने जवाफ दिएको ति स्थानीयले वताए । उनले भने, ‘सडक निर्माणको क्रममा पर्खाल लगाएतका काममा खोलाको ढुङ्गा प्रयोग हुनुपर्नेमा पान्तोला नजिकको कोदे ढुङ्गा प्रयोग भैरहेको छ । यहाँ स्थानीय तह र सरोकारवालाको आडमा निर्माण कम्पनीले मनोमानी रुपमा उत्खनन गरेर वन विनास गर्नुका साथै दोहन गरेको छ ।’
यता नारायण नगरपालिका वडा नं. १ वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठले गत वर्ष वजार हिलाम्मे हुँदा मोरङ निकालेर सडकमा हाल्न खोज्दा वन उपभोक्ता समितिले नदिएको वताए । वडा अध्यक्ष श्रेष्ठले भने, ‘सडक हिलाम्मे हुँदा मोरङ निकालेर सडकमा हाल्न दिनु पर्यो भन्दा वन उपभोक्ता समितिले नदिएको वताउँदै अहिले कसरी दियो ? यसवारे मलाई केही थाहा छैन ।’
यस्तै नारायण नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष पुणर् वहादुर मल्लले यसवारे आफु अनविज्ञ रहेको वताए । उनले भने, ‘पानतोला आसपास क्षेत्रमा कृषि उपज संकलन केन्द्र र हाट वजार निर्माण गर्नका लागी नारायण नगरपालिका कार्यपालिकावाट समेत निणर्य गरेर काम गर्न खोज्दा वन उपभोक्ता समितिका अध्यक्षले रोक्नु भयो । उहाँले आफुलाई नसोधेर किन कृषि उपज संकलन केन्द्र र हाट वजार निर्माण गर्न लागेको भन्नुभयो । तर अहिले धमाधम वन विनास भैरहेको छ । अवैध दोहन भैरहेको छ तरपनि उपभोक्ता समितिको अध्यक्ष मौन हुनुुहुन्छ ।’
ठेकेदार कम्पनीले उक्त ठाउँमा ढुङ्गा र मोरङ उत्खनन गर्दा उपभोक्ता समितिसँग समन्वय नगरेको वन उपभोक्ता समितिका अध्यक्ष हेम सुवेदीले वताए । ठेकेदार कम्पनीले ढुङ्गा र मोरङ उत्खनन गर्दा उपभोक्ता समितिसँग समन्वय गरेन मैले पछि थाहा पाए अध्यक्ष सुवेदीले भने, ‘उत्खनन भैरहेको थाहा पाए लगतै काम रोकेको हुँ । ठेकेदार कम्पनीलाई काम रोक्नुस् हैन भने तपाँईहरुलाई गाह्रो पर्न सक्छ है विचार गर्नुस् भनेपछि उहाँहरुले काम रोक्नुभयो । अहिले काम रोकेर सडकको फिनिसिङ गर्ने काम भैरहेको छ । अहिले काम रोकिएको छ । उहाँहरुले त्यहाँ उत्खनन् गर्न पाउनु हुन्न ।’
यता निर्माण कम्पनी शर्मा हाई हिमालय जेभिले त्यहाँ ढुङ्गा र मोरङ उत्खनन गरेको स्वीकार गरेको छ । निर्माण कम्पनीका संचालक शम्भु मल्लले ढुङ्गा र मोरङ उत्खनन गर्दा सम्वन्धीत निकायसँग सम्पर्क गर्दा नेटवर्कका कारण सम्पर्क गर्न नसकिएको वताए । उनले भने, ‘आफु यहाँ नहुँदा सम्वन्धीत व्यक्तिसँग सम्पर्क हुन सकेन । काम गर्दै जाँदा सम्वन्धीत व्यक्तिसँग पछि सम्पर्क गरेका हौँ ।’ संचालक मल्लले मध्यपहाडी राजमार्गमा त्यहाँको ढुङ्गा र मोरङ प्रयोग भैरहेको समेत स्वीकारेका छन् । उनले त्यहाँका मोरङ ग्राभेल र ढुङ्गा पर्खाल लगाउने काममा प्रयोग भैरहेको स्वीकारेका हुन् ।
यता स्थानीयले निर्माण कम्पनीले खोलाको ढुङ्गा ल्याएर पर्खाल लगाउने र ग्राभेल गर्नुपर्नेमा त्यसो नगरी नारायण नगरपालिकाको पानतोलामा रहेको कोदे ढुङ्गा पर्खाल लगाउने र मोरङ ग्राभेल गर्ने काममा प्रयोग गरेको भन्दै अक्रोशित भएका छन् । खोलाको ढुङ्गा प्रयोग गर्नुपर्नेमा त्यसो नगरी कोदे ढुङ्गा प्रयोग गरेर कमशल काम गरेर निर्माण कम्पनीले ठग्न खोजेको आरोप स्थानीयले लगाएका छन् । यस विषयमा सम्वन्धीत निकायले तत्काल ध्यान दिनु पर्ने स्थानीयको माग छ ।
जिल्लाका सम्वन्धीत सरोकारवाला निकायलाई अवैध दोहन भैरहेको र निर्माण कम्पनीले कमशल काम गरिरहेको विषयमा पटक-पटक जानकारी गराउँदा समेत कानमा तेल हालेर वसेको स्थानीयको आरोप छ । उनीहरुले यसरी पटक-पटक जानकारी गराउँदा समेत कसैले चासो नदिनुमा सवैको मिलिमतो हुन सक्ने आरोप लगाएका छन् ।
यस्तै विषेश गरी वनजंगलनको विषयमा सरोकार राख्ने डिभिजन वन कार्यालय दैलखले समेत मध्यपहाडी राजमार्गको दैलेख-सदरमुकाम खण्डको पानतोलामा अवैध रुपमा वोट विरुवा काट्नुका साथै अवैध दोहन गर्दा पनि चासो दिएको छैन । हामीले यस विषयमा डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
(तस्विर सहित) तस्विर भिम वहादुर सिजापति