वेथिति श्रृंखला-३४ : मध्यपहाडी राजमार्गको पर्खाल निर्माणमा गुणस्तरहिन काम (तस्विर सहित)
मातृभूमी संवाददाता । १५ साउन दैलेख
मध्यपहाडी राजमार्ग अन्तरगत लोहोरे-दैलेख सदरमुकाम सडक खण्डमा गुणस्तरहिन काम भएको पाईएको छ । लोहोरे-दैलेख सदरमुकाम सडक खण्डको किमुगाउँमा गुणस्तरहिन काम भएको पाईएको हो । ठेकेदार कम्पनीको लापरवाहीका कारण पर्खाल निर्माण कार्यमा गुणस्तरहिन काम भएको हो । सरोकारवाला निकायको मौनताका कारण ठेकेदार कम्पनीले पर्खाल निर्माण लगाएतको काम गुणस्तरहिन गरेको स्थानीयले गुनासो गरेका छन् ।
निर्माण कम्पनी शर्मा हाई हिमालय जेभिले सडक चौडा वनाउने नाममा सामुदायिक वन विनास गरेर ढुङ्गा र मोरङ निकाल्ने र त्यहि ढुङ्गा र मोरङ पर्खाल निर्माणमा प्रयोग गरेको स्थानीयले वताएका छन् । स्थानीयले सडक निर्माणको क्रममा पर्खाल लगाएतका काममा खोलाको ढुङ्गा प्रयोग हुनुपर्नेमा पान्तोला नजिकको कोदे ढुङ्गा प्रयोग भैरहेको जानकारी दिए । उनीहरुले यहाँका स्थानीय तह र सरोकारवालाको आडमा निर्माण कम्पनीले मनोमानी रुपमा उत्खनन गरेर वन विनास गर्नुका साथै पर्खाल निर्माणको काम समेत गुणस्तरहिन गरेको वताए ।
पर्खाल निर्माण गर्दा खोलाको ढुङ्गा प्रयोग गर्नुपथ्र्यो तर निर्माण कम्पनीको दादागिरीका कारण पर्खालमा नारायण नगरपालिका ७ पान्तोला नजिकको कोदे ढुङ्गा प्रयोग भैरहेको स्थानीयको गुनासो छ । मेसिनरी पर्खाल लगाउँदा र ग्याभिन जालि भर्दा हामीले थाहा पाएसम्म खोलाको ढुङ्गा वा एकदम कडा ढुङ्गा प्रयोग हुन्छ । तर यहाँ निर्माण कम्पनीको दादागिरी र सरोकारवाला निकायको मौनताका कारण कोदे ढुङ्गा प्रयोग भैरहेको नाम नछाप्ने शर्तमा एक स्थानीले मातृभूमीलाई वताए ।
स्थानीयले खोलाको ढुङ्गा प्रयोग गर्नुपर्नेमा त्यसो नगरी कोदे ढुङ्गा प्रयोग गरेर कमशल काम गरी निर्माण कम्पनीले ठग्न खोजेको भन्दै आक्रोस पोखे । यस विषयमा सम्वन्धीत निकायले तत्काल ध्यान दिनु पर्ने उनीहरुको माग छ । जिल्लाका सम्वन्धीत सरोकारवाला निकायलाई निर्माण कम्पनीले कमशल काम गरिरहेको विषयमा पटक-पटक जानकारी गराउँदा समेत कानमा तेल हालेर वसेको स्थानीयको आरोप छ । उनीहरुले पटक-पटक जानकारी गराउँदा समेत कसैले चासो नदिनुमा सवैको मिलिमत्तो हुन सक्ने आरोप समेत लगाएका छन् ।
यता निर्माण कम्पनी शर्मा हाई हिमालय जेभिका शम्भु मल्लले किमुगाउँ, त्रिभुवन मावि पछाडी पर्खाल निर्माणका क्रममा नारायण नगरपालिका ७ पान्तोला नजिकको ढुङ्गा नै प्रयोग भैरहेको स्वीकार गरेको छन् । मातृभूमीसँगको कुराकानीमा उनले पान्तोला नजिकको ढुङ्गा प्रयोग भैरहेको वताएका हुन् । निर्माण कम्पनीले पान्तोला नजिकको ढुङ्गा प्रयोग भैरहेको वताई रहँदा हामीले ल्याव रिर्पोट मागेपछि कहिले सुर्खेत छ, कहिले मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखमा छ भनेर छल्ने गरेको छ ।
नारायण नगरपालिका ७ किमुगाउँको बडाआवत आसपासमा लगाईएको ग्याभिन जालि अहिले सम्म पास भएको छैन । एक स्थानीयले भने, ‘काम कमशल र गुणस्तरहिन भएको भन्दै अहिले सम्म ग्याभिन जालि पास भएको छैन । त्यो ग्याभिन जाली अव पास भयो भने दालमा कुछ काला हुनेछ । हजुरहरुले खवरदारी गरिदिनु पर्यो ।’
बडाआवत आसपासमा लगाएको मेसिनरी पर्खालमा समेत पान्तोलाको कोदे ढुङ्गा नै प्रयोग भएको र ढुङ्गा ठड्याएर पर्खाल लगाउने काम भएको उनीहरुको गुनासो छ । यसरी एक त कोदे ढुङ्गा त्यसमाथि ठड्याएर पर्खाल लगाउँदा दिगो नहुने र पर्खाल भत्किदा आफुहरुको घरवारी नै नास हुने स्थानीयले चिन्ता व्यक्त गरे ।
तस्विर सहित (तस्विर भिम वहादुर सिजापति)