प्रक्रिया पूरा नगरेका ४१ दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय
मातृभूमी राजनीतिक ब्यूरो । १९ साउन काठमाण्डौ
निर्वाचन आयोगले कानूनी रुपमा प्रक्रिया नपुर्याउने ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गरेको हो । प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगमा १३६ दल दर्ता रहेकामा ४१ दल खारेजीसँगै अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ ।
खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोम्दै आयोगले सरकारी बाँकी सरह असूल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई भनेको छ । यद्यपि, एक वर्षसम्म ती दलको नाम, झण्डा र चिह्न अरुलाई प्रयोग गर्न नदिने निर्णय पनि गरिएको छ ।
जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने प्रवक्ता श्रेष्ठले बताए ।
आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।