नौमूलेका रोजगार संयोजकको अचाक्ली, गाउँपालिकाद्धारा निलम्वन
मातृभूमी संवाददाता । २० साउन दैलेख
नौमूले गाउँपालिका दैलेखका रोजगार संयोजक संदिप विश्वकर्मालाई नौमूले गाउँपालिका दैलेखले निलम्वन गरेको छ । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा लापरवाही गरेको भन्दै गाउँपालिका कार्यपालिका वैठकले निलम्वन गरेको हो । रोजगार संयोजक विश्वकर्मालाई रोजगार कार्यक्रममा लापरवाही गरेको, निर्माण सामाग्री काम सम्पन्न पश्चात वडामा पुगेको, मजदुरले ज्याला तोके वमोजिम नपाएको जनगुनासो आएपछि निलम्वन गरी छानविन समिति गठन गरेको गाउँपालिकाले जनाएको छ ।
नौमूले गाउँपालिका दैलेखको रोजगार संयोजक पदमा कार्यरत रहँदा रोजगार कार्यक्रममा लापरवाही गरेको, निर्माण सामाग्री काम सम्पन्न पश्चात वडामा पुर्याएको, मजदुरले ज्याला तोके वमोजिम नपाएको, रोजगार कार्यक्रममा प्रयोग गरिने सामाग्री शिलवन्दी दरभाउपत्र तथा कोटेशन आह्वान नगरी आफुखुसी खरिद गरेको भन्दै सोमवार वसेको नौमूले गाउँपालिका, गाउँ कार्यपालिकाको वैठकले निलम्वन गरी छानविन गर्न समिति गठन गरेको हो ।
नौमूले गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष मोतिलाल वस्नेतको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ । वडाध्यक्ष वस्नेतको संयोजकत्वमा गठित चार सदस्यीय छानविन समितिको सदस्यमा वडा नं. ८ का वडाध्यक्ष मोहन कुमार राना मगर, कार्यपालिका सदस्य सम्झना गहतराज र ईन्जिनियर किरण कुमार केसी रहेको छानविन समितिका संयोजक वडाध्यक्ष वस्नेतले जानकारी दिए ।
छानविन समितिले विहिवारदेखी कामको थालनी गरी कार्यपालिका वैठकमा प्रतिवेदन पेश गरिने छानविन समितिका संयोजक वडाध्यक्ष वस्नेतले वताए । संयोजक वडाध्यक्ष वस्नेतका अनुसार नौमूले गाउँपालिका दैलेखको रोजगार संयोजक पदमा नियुक्ति भएयता गरेका विभिन्न गतिविधीहरुको यथार्थ छानविन गरि प्रतिवेदनमा उल्लेख गरिने छ ।
सरकारी सम्पतिको दुरुपयोग
नौमूले गाउँपालिका दैलेखका रोजगार संयोजक सन्दिप विश्वकर्माले सरकारी सम्पतिको दुरुपयोग गरेको स्थानीयले आरोप लगाएका छन् । रोजगार संयोजक विश्वकर्माले विदाको समयमा मोटरसाईकल चलाउने गरेका छन् । ‘रोजगार सरले विदाको दिन पनि सरकारी मोटरसाईकल चलाउनु हुन्थ्यो’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘कार्यालय विदा भएपनि उहाँलाई कहिल्यै फुर्सद भएन । विदाको दिन पनि दिनहुँ जिल्ला र गाउँपालिका ओहोरदोहोर गरिरहनु हुन्थ्यो ।’
यस्तै ‘उहाँले गाउँपालिकाको ल्यापटप समेत वेपत्ता पार्नुभएको छ’ गाउँपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा भने, ‘गाउँपालिकाको ल्यापटप हरायो भन्दै वेपत्ता पार्नु भयो । उहाँले आफ्नै कोठावाट ल्यापटक हरायो भन्नुभयो । कोठावाट कसरी सामान हराउँछ । कोठावाट सामान हराउनलाई टाँक त हैन नी । ल्यापटप हराएको नभई वेपत्ता पारेको हुनुपर्छ । उहाँले उल्टै हामीलाई आरोप लगाउनु भयो ।’
रोजगारका काममा विवादै-विवाद
नौमूले गाउँपालिकाका रोजगार संयोजकको मनोमानीका कारण अधिकांश योजनाहरुमा विवाद भएको स्थानीयले आरोप लगाएका छन् । रोजगार संयोजकले कसरी मजदुरहरु छनौट गर्नुभयो हामीलाई केहि थाहा भएन’ एक स्थानीयले भने, ‘गाउँको तथ्यांकका आधारमा रोजगारमा काम गर्ने मजदुर छनौट नहुदाँ धेरै योजनाहरुमा विवाद भएको हो ।’ रोजगार संयोजकले कामका लागि मजदुर छनौट गर्दा आफन्तलाई वढि प्राथमिकता दिएका कारण विवाद भएको स्थानीयको आरोप छ ।
उता नौमूले गाउँपालिकाको वडा नं. १ तोलीमा रोजगारका काममा मजदुर नलगाई डोजर प्रयोग हुँदा रोजगार संयोजक मुखदर्शक भएको स्थानीयको. आरोप छ । रोजगार संयोजकले डोजर प्रयोग हुँदासम्म केहि पनि प्रतिक्रिया नदिएकाले तोलीको एक योजनामा विवाद भएको स्थानीयको भनाई छ ।
काम सम्पन्न भएपछि निर्माण सामाग्री गाउँमा
रोजगारको काम गर्नका लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरु समयमै उपलब्ध नगराई काम सम्पन्न भएपछि गाउँमा पठाएको नौमूले गाउँपालिका ७ पैतीका एक स्थानीयले वताए । ‘काम सम्पन्न गरेर भुक्तानीको लागी तयारीमा थियौ’ एक स्थानीयले भने, ‘रोजगार संयोजकको ढिला सुस्तीले गर्दा काम सकिएपछि मात्र निर्माण सामाग्री गाउँमा पठाउनु भयो, हामिले आफ्नै घरायसी निर्माण सामाग्रीले काम चलायौं ।’ नौमूले गाउँपालिकाका अधिकांश रोजगारका काममा निर्माण सामाग्री काम सम्पन्न भएपछि मात्र गाउँमा पुर्याइएको थियो ।
कोटेशन विनै निर्माण समाग्री खरिद गरेको आरोप
रोजगारका कामका लागि कार्यविधि अनुरुप खरिद गरिनुपर्ने निर्माण सामाग्री रोजगार संयोजकले कोटेशन विनै खरिद गरेको आरोप लागेको छ । एक कर्मचारीका अनुसार रोजगारका कामका लागि दश लाख रुपैयाँको निर्माण सामाग्री खरिद गर्नुपर्ने थियो के कतिको खरिद भयो कोटेशन गरेको कसैलाई पनि जानकारी छैन ।
नौमूले गाउँपालिकाका खरिद समिति संयोजक जगतबहादुर सिंहले निर्माण सामाग्री खरिदका लागि खरिद समितिले कार्यविधि अनुसार निणर्य गरेको वताए । तर खरिदको कोटेशन आह्वान लगायत अन्य प्रक्रिको वारेमा आफुलाई कुनै जानकारी नभएको खरिद समिति संयोजक सिंहको भनाई छ ।
उता नौमूले गाउँपालिकाका रोजगार संयोजक संदिप विश्वकर्माले आफ्नो वचाउ गर्दै नियम अनुसार नै कोटेशन गरिएको र कहाँ भयो के भयो आफुलाई जनाकारी नभएको टेलिफोनमा प्रतिक्रिया दिएका छन् ।