दैलेखको भैरबीमा अज्ञात समुहद्धारा लुटपाट

मातृभूमी संवाददाता । २२ साउन दैलेख
दैलेखको भैरबी गाउँपालिका १ मा अज्ञात समूहले लुटपाट गरेको छ । भैरबी गाउँपालिका १ रावतकोटको गुयाली टोलमा अज्ञात समुहले बास मागेर लुटपाट गरेको हो । रावतकोट गुयाली टोलका स्थानीय ६९ वर्षीय सेते खत्रीको घरमा बिहीबार साँझ बास माग्न आएका ३ जनाले लुटपाट गरेको प्रहरी ले जनाएको छ ।
भैंसी किन्ने निहुँ बनाएर बास माग्न पुगेका ३ जनाको अज्ञात समूहले सेतेको परिवारलाई बेहोस बनाई लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
सेतेको परिवारमा उनकी पत्नि ६९ वर्षीया माग्ली खत्री र छोरी ४८ वर्षीया नानकला खत्री रहेको स्थानीयले वताएका छन् ।
स्थानीयले शुक्रबार बिहान सेते, उनकी श्रीमती माग्ली र छोरी नानकलालाई बेहोस अवस्थामा फेला पारेका थिए । सेतेको परिवारलाई बेहास अवस्थामा फेला पारेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार बेहोस अवस्थामा भेटिएका तीनै जनालाई दैलेख अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ । उनीहरुलाई कुन औषधि खुवाएर बेहोस बनाइएको हो भन्नेबारे नखुलेको डिएसपी श्रेष्ठले बताए ।
‘३ जना अज्ञात व्यक्ति भैंसी किन्ने निहुँमा बिहीबार साँझ सेतेको घरमा बास माग्न पुगेको भन्ने खुलेको छ, घरको दराज फोडिएको छ, के-कति लुटिएको छ भन्नेबारे यकिन भएको छैन्,’ डिएसपी श्रेष्ठले भने ।
सेतेको परिवार उपचारपछि पर्किएपछि मात्रै के-कति सामग्री लुटिएको छ भन्नेबारे खुल्ने डिएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरिक्षक नेत्र बुढाको नेतृत्वमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
सेतेका छिमेकीले सुन लगायतका सामग्रीहरु लुटिएको आशंका गरेका छन् । उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग समेत सेतेको छिमेकीहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!